पहिलो भेट

पहिलो भेट
अनि भेटसँगै तिमीले छोडेको मधुर मुस्कान
त्यही मुस्कानमा मेरो नजर अड्किदाको पल
मस्तिष्कमा ठोक्किन खोज्दा
आफैसँग आफै लजाउन थाल्छु
थाहै नपाई मायाकै गीत गुनगुनाउन थाल्छु ।।

दोश्रो भेट
अनि भेटसँगै अझै लाजले निहुरिएको मेरो शिर
लाजलाई जबर्जस्ती छोप्न खोज्ने असफल प्रयास
त्यही हर्कतहरु आँखासामु नाच्न खोज्दा
आफैसँग आफै लजाउन थाल्छु
रात कट्दा दिनमै सपना सजाउन थाल्छु ।।

तेश्रो भेट
अनि भेटसँगै जोड–जोडले धड्किएको मेरो मुटु
बोल्न खोज्दा निस्कनै नमान्ने मनको बोली
अनि सम्झन खोज्दा
आफैसँग आफै लजाउन थाल्छु
तिम्रो लागि साँचेका कुरा आफैलाई सुनाउन थाल्छु ।।

चौथो भेट
पाचौ भेट
यस्तैयस्तै भेटहरु
अनि भेटसँगै बाँटिएछन् मायाको डोरी
विना अत्तोपत्तो भएछन् दुई मुटु चोरी
उम्किन मुस्किल लौ भएन फसाद
अनि
अर्को भेटको लागि निरन्तरता खोज्दा
आफैसँग आफै लजाउन थाल्छु
कसरी प्रस्तुत हुने भनी योजना बनाउन थाल्छु ।।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।