तामाङ फिल्म एन्ड म्यूजिक अवार्डलाई नजिकबाट नियाल्दा ः

संभवतः तामाङ समाजमै पहिलो मात्र नभएर आदिवासी जनजातीमा नै पहिलोचोटी जातीय रुपमा अवार्ड कार्यक्रम गर्ने उदघोषका साथ “तामाङ फिल्म एन्ड म्यूजिक अवार्ड–२०६७” ले साच्चिकै ऐतिहासिक रुपमा आफ्नो कार्यक्रम सम्पन्न गरिएको छ । तामाङ चौतारी समूहले पहिलोपटक गरिएको यस कार्यक्रममा सहभागीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । सम्पूर्ण तामाङ कलाकार, पत्रकार, मिडियाकर्मीहरु र कार्यक्रममा आफ्नो उत्साहपूर्ण सहभागिता जनाउन दर्शक–श्रोताहरुको उपस्थिति थियो । हामीले अनुमान गरेभन्दापनि धेरै उपस्थिति भईदिदा भीडलाई ब्यबस्थित गर्न हम्मेहम्मे नै परेको थियो ।


जेठ ८ मा भनिएको कार्यक्र किन भदौ ८ मा सारियो त ?
हुनु त यो अवार्ड वितरण कार्यक्रम जेठ ८ गते गर्ने भनेर समय छुट्टयाईएको थियो तर देशको केही राजनीतिमा आएको असहज फेरबदलले गर्दा भनिएको समयमा गर्न चुकिएको थियो । अनि जेठ २१ गते पो गर्न सकिन्छ कि भनेर आयोजक कमिटीमा छलफल चलाईएको थियो । तर माओवादी आन्दोलन र जेठ १४ पछिको परिस्थति के–कस्तो रहला तत्काल निर्णय लिन सकिने अवस्था थिएन । असार महिना सबैको खेतीपातीको समय त्यसैले गर्ने कुरै भएन र साउनमा पनि हिलो र पानीको यामले गर्दा गरिएन । नेपाली गीत–संगीतको आकाशमा थुप्रै योगदान पु¥याउनुभएका, हिमाल पहाड तराईका सबै नेपालीको ढुकढुकीमा रहन सफल हाम्रै तामाङ समाजका सगीत सम्राट स्व. गोपाल योञ्जनको ६३ औं स्मृति दिवसको अबसर पार्दै, आयोजक समिती(तामाङ चौतारी समूह)को निर्णय र सहमति अनुसार भदौ ८ गतेको शुभमुहुर्त निस्कियो ।

उपस्थिति र उत्साह ः
तामाङ समाजमा ख्याती कमाईसकेका ब्यक्तित्वहरुदेखी लिएर हामीलाई माया गर्ने शुभचिन्तकहरुको सहभागिताले आयोजकको मनमा खुशीले राम्रै डेरा जमाउन सफल भएको थियो । कलाकारहरुलाई एक किसिमको ठूलै पर्व नै आएको हो कि जस्तो भान थियो । दर्शकहरु कौतुहलताको बीचमा आफूलाई निरन्तर भूलाईरहेका थिए कि यसपालीको अवार्ड कसले हात पार्ला भनेर । कलाकारहरुको मनमा पनि एक किसिमको मिश्रीत भावना स्पस्टै देख्न पाईन्थ्यो । यही वीचमा कार्यक्रमको रफ्तार बढिरहेको थियो ।

कार्यक्रमको ब्यबस्थापन पक्ष ः
कार्यक्रमलाई अझ ब्यवस्थित र मर्यादित बनाउन उल्लेख्य मात्रमा स्वयम सेवकहरु खटाईएको थियो । कोही ब्याक स्टेजमा दौडिरहेका थिए भने काही दर्शक दिर्घामा ब्यबस्थापनको जिम्मा लिएर बसेका थिए र चारैतिर आ–आफ्नै कार्यक्षेत्रमा खटिरहेका थिए । सोचेभन्दा धेरैको उपस्थिति भईदिदा ब्यबस्थापन पक्ष केही मात्रमा फितलो देखिन्थ्यो । कहिलेकाही कलाकारलाई नचिनिदाको अप्ठ्यारो त कहिले कसलाई कहाँ राख्ने भन्ने चिन्ता ।

सुरक्षा ब्यबस्थापन ः
कार्यक्रम गर्दाखेरी आउन सक्ने सम्भावनाका खतराहरुलाई टार्न विभिन्न ठाउँका प्रहरीहरुलाई खटाईएको थियो । कोही भित्र सिभिल ड्रेसमा खटाईएको थियो भने कोही बाहिरी पटि । प्रत्येक प्रवेशद्वारमा टिकेट चेक गर्न विशेष गार्डहरुलाई जिम्मा दिईएको थियो र एक स्वयमसेवक (कम्तिमा) खटाईएका थियौं । पत्रकार, मिडियाकर्मी र गन्यमान्यहरुलाई भने छुटटै पासको ब्यबस्था गरिएको थियो ।

कार्यक्रमको लागि श्रमको लागत ः
यस कार्यक्रम गर्न जम्मा १४ जना आयोजक समितीको टिम बनाईएको थियो । त्यही १४ जना साथीहरुको निरन्तर खटाईमा यस किसिमको कार्यक्रम र भब्यतामा परिनत हुन्छ भन्ने धेरैले शंका गरेका थिए । तर कामहरु भने निरन्तर जारी नै राखे । अन्ततः कार्यक्रमले चाहेको जस्तो सफलता भेटाए पनि ।

के–कस्ता कमजोरी रहे त ?
कार्यक्र गर्ने निर्धारित समय भनेर १ बजे भनिएको थियो तर स्टेज निर्माणको काम नै २ बजेसम्म तयार भईसकेको थिएन । सगरमाथा टेलिभिजनबाट २.३० देखी प्रत्यक्ष प्रशारणको काम ३ बजेबाट बल्ल सुरु भो । त्यसैले भनेको समयमै कार्यक्रम संचालन गर्न असमर्थ रहे । अर्को कमजोरी पक्ष भनेको कलाकार र दर्शकहरुको ब्यबस्थापनमा केही समस्याहरु देखिएको थियो । केही प्राविधिक समस्याहरुले कार्यक्रममा केही खल्लो महसुस गरिएको थियो । जस्तो कार्यक्रम संचालकले प्रोमोको लागि उदघोष गरिसक्दा पनि प्रोमो नबज्नु, एउटा प्रामो बज्नुको सटटा अर्कै बज्नु र यस्तै–यस्तै ।

के–कस्ता कामहरु बाँकी रहेका थिए ?
सुरुवात निकै राम्रो भएको थियो तर केही अवार्ड वितरण बाँकी रहदाको अन्तिम समयमा भने लोडसेडिङ भएर केही खल्लो भएको थियो । जसले गर्दा कार्यक्रम प्रति विशेष सहयोग गर्ने संघसस्थाहरु  तथा ब्यक्तित्वहरुलाई प्रशंसा पत्र दिने कार्यक्रम भने थाती नै रह्यो । त्यसैगरी म्हेन्दोमाया नाच, लामाछयाम–बोन्बोछ्याम, सेलो नाच लगायत केही गर्नैपर्ने कामहरु अपूरो नै रहेको थियो ।

असुन्तुस्टिका केही गुन्जायजहरु ः
हामी तामाङ चौतारीले यो कार्यक्रमलाई विवाद रहित बनाउन धेरै मेहेनत गरेकै हौ । तरपनि कहिलेकाही केही असहमति र असन्तुस्टिका स्वरहरु गुन्जिने रहेछन् । हाम्रो उद्धेश्य कसैलाई जिताएर खुशी पार्नु र कसैलाई हराएर निराश पार्नु पक्कै होइन । जित्नै पर्नेले जित्नुपर्छ भन्ने मान्यताले संचालन गरिएको थियो । टप ५ लिस्ट निकाल्दा भने त्यस किसिमको असन्तुस्टी देखिदैन थियो तर टप ५ बाट १ लाई अवार्ड वितरण गर्दा भने केही यस्ता आवाजहरु सुनिन थालेको थियो । बेस्ट १ छान्ने सम्पूर्ण जिम्मेवारी जजहरुलाई दिइएको थियो र प्राप्त एस.एम.एस. को आधारमा यो घोषना गरिएको थियो । जस्ले गर्दा एकै जनाले धेरै अवार्ड पायो भनेर गुनासो आएका थिए ।

अन्तमा ः
राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहनुभएका सम्पूर्ण संघसंस्था तथा ब्यक्तिहरुमा कार्यक्रमलाई सफल पार्न आर्थिक–नैतिक तथा भौतिक रुपमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्नुभएका सम्पूर्णलाई तामाङ चौतारी समूह हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछौंं । साथै भविष्यमा पनि यस्तै सहयोग र सदभाव पाईरहने अपेक्षा गर्दछौ । थुजेछे ।

,

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।