प्रबिना गोले उपचार सहयोग अभियान:

प्रबिना गोले (नमूना) बिगत सात बर्षको रेडियो गण्डकीको यात्रामा राम्रो रेडियो प्रस्तोता वा समाचारवाचक (तामाङ, थकाली, गुरुङ र नेपाली भाषामा) मात्रै नभएर डेस्क सम्पादकको कुशल भूमिका निर्वाह गरिसकेकी एक कुशल संचारकर्मी हुन् । तथापी आज उक्त जिम्मेवारीबाट टाढा बस्न बाध्य छिन् । माओवादी द्वन्द्वकालको मध्यचरणतिर कलिलो उमेरमा बन्दुक बोकेर योद्धाको परिचय बोकेकी उनले सिन्धुपाल्चोकको ठोकर्पा भिडन्तमा देब्रे हात गुमाएकी थिइन् । उतिबेला लागेको थियो ‘वाह जीवन होस् त यस्तो पो, कठोर संघर्षको बीचमा पनि सत्तिसालझैं ठिङ्ग उभियोस् जीवन, बल्ल पो इतिहासका पानामा नामहरु अटाउन सम्भव हुन्छन् ।’

ललितपुरको चन्दनपुर गाविसमा जन्मेकी उनको उमेर अहिले २५ मात्र भएको छ तर संघर्षका यात्राको भोगाई उनीसँग धेरै जेष्ठको छ । एउटा अचम्मको रहस्यमय कुरा, बिगत चार महिनादेखिको निरन्तर उपचार र अनेक मेडिकल टेष्टहरुमा पनि उनको रोग पत्ता लाउन नसक्नु । उनका श्रीमान सुदिप भन्छन्, “डाक्टरहरु शंकाको भरमा अनेक तेष्टहरु गराई रहेका छन् । सबै टेष्टहरुबाट रिपोर्ट नर्मल आउदा के रोग लागेको थाहा हुन सकेको छैन ।” त्यसैमा थप्दै नमूना भन्दै थिइन्, “कम्तिमा यो रोग लागेको छ भनेर भनेको भए उपचार हुदै छ है भनेर मनमा ढुक्क त हुन्थ्यो । तर खै अब बाच्दिनं होला नेपालमै उपचार गरेर त । बाहिर जान पैसा पुग्दैन । मैले कसलाई पैसा दिनु भनेर भन्न जानु ।” निकै भाबुक उनको बिरामी स्वर निस्किदै थियो । उनी शारीरिक पीडालाई पीडामा नै सकेसम्म दबाउने र अरुलाई नदेखाउने गर्दै थिइन् तर खपिनसक्नुको पीडामा, आफै बाहिर निस्किरहन्थ्यो !

बि.एण्ड.बि. अस्पतालले प्रारम्भिक चरणमा उनलाइ मुटु सुन्निएको भनेपछि उपचार गरियो, समस्या हल भयो । त्यसपछि खुट्टाहरु बिस्तारै टेक्न नमिल्ने भए । नसाको समस्या भनेपछि उनी न्युरो अस्पताल पुगिन् । उक्त अस्पतालले उनलाई हड्डीको समस्या भनेपछि फेरि बि.एण्ड.बि. फर्किइन् । विभिन्न रोगहरुको जाँच गरियो हड्डीको समस्याबारे विभिन्न शंका गर्दै बोन टीबी भएको भनी जाचेर हेर्दा, रिपोर्ट negative आए । अनि फेरि शरीरको तल्लो भाग चल्ने र सामान्य सहयोगमा हिड्न सक्ने भए तर माथिल्लो भाग चलाउन नमिल्ने । कुनै डाक्टरले अपरेशन गरेर हेर्नुपर्छ भन्ने, कुनैले औषधि उपचार पछी निको हुन्छ भन्ने खाले अनेक डाक्टरका कुराले झन् के गर्ने थप अन्यौल । रोग समेत पत्ता नलगाउदा नै पाँच लाख उडिसक्यो, थप उपचार गर्न इण्डिया जान खोज्दैछिन् जसको लागि १० देखि १५ लाख आबश्यकता देखिन्छ । डाक्टरको भनाइ अनुसार, रेडियोमा घन्टौ सम्म बोलेर कार्यक्रम चलाउन नसकिने बताइएको छ । तर उनको इच्छा पत्रकारितालाई नै निरन्तरता दिने रहेको इच्छा ब्यक्त गरिन् ।

तामाङ सन्चार समुहद्धारा तामाङ प्रसारण दिवसको अवसरमा यसअघि परस्कृत समेत भइसक्नु भएको नमूना “मान्छे एक प्रतिभा अनेक” भनेर मान्न सकिन्छ । उनी साहित्यको कुनै पनि विधामा अत्यन्तै राम्रो सँग खुल्न जान्दछ । बिशेष गरे कबिता र गजलमा उनी अत्यन्तै दखल राख्दछ । लेख र समाचारहरु अत्यन्तै मिलाएर लेख्न जान्दछ । कुनै पनि सामाजिक, समसामयिक, र राजनैतिक बिषयमा अत्यन्तै स्पष्ट बिचारसहित आफू प्रस्तुत हुन सक्षम छिन । कम्प्युटर टाईपिङमा दुइ हात चलाउनेको भन्दा उनको एक हातको छिटो औला चल्ने गर्छ ।

जीवनप्रतिको माया र मोह सबैलाई हुने गर्छ । यस्ता विलक्षण प्रतिभाहरुलाई फुल्ने अर्को मौका, जीवन दान नै हुनसक्छ । त्यसको लागि हामी सम्पूर्णले सहयोगको लागि हात बढायौ भने, असम्भब भने छैन । मन खुम्चाउने होइन, खुलाउनुपर्ने बेला आएको छ । हाम्रो एक सानो सहयोगमा उनको जीवन अडिएको छ ! 

सायद आफन्तको आवश्यकता त्यतिबेला जरुरी हुन्छ, जब उसलाई समस्या पर्दछ । आज उनलाई सहयोगको आवश्यकता छ । हामी सबै जुटे उनलाई बचाउन सकिन्छ । हेटौडाको अर्थो अस्पतालबाट सुरुभएको उपचारयात्रा विरगंजको ट्रमा सेन्टर, काठमाडौं न्युरो अस्पताल हुँदै यतिबेला बि.एण्ड.बि.मा अलपत्र परेको छ ।

उनको सहयोगार्थ भएका अहिलेसम्मका आह्वान र पहलहरु:
-अध्यक्ष कमरेड प्रचण्ड स्वयं उपस्थित भै प्रबिनाको स्वास्थ्यबारे जानकारी लिदै बिरामी खर्च व्यहोर्ने बचन प्रतिबद्धता ब्यक्त गर्दै पार्टीको तर्फबाट १ लाख ५० हजार सहयोग रकम हस्तान्तरण गर्ने प्रतिबद्धता
-यु.ए.ई. तामाङ समाजको तर्फबाट बिशेष पहल र अभियानबाट एकमुष्ट ८५,१००/- संकलन र हस्तारण
-गण्डकी संचार गृह पोखराको तर्फबाट ६०,५१५ हस्तान्तरण
-एमाओवादी निकट नेपाली जनप्रगतिशील मञ्च यूएईको टर्फबाट रु३०,००० सहयोग हस्तान्तरण
-पूर्व पिएलएहरुका टर्फबाट संकलित रकम ८१,००० हस्तातरण
-आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको तर्फबाट ५ हजार रुपैयाँ आर्थिक सहयोग र प्रबिना बचाउको लागि अभियान
-नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, सचिव संगिता खड्कासहति अस्पतालमै पुगेर गोलेलाई भेटी २० हजार आर्थिक सहयोग प्रदान
-प्रविना गोलेको उपचारका लागि सहयोग जुटाउन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय सदस्य तथा तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङ, प्रविनाका पारिवारिक सदस्य (भिनाजु) चित्रबहादुर घर्ती मगर र दिपेश पुनको नाममा ग्लोबल आइएमइ बैक अनामनगर शाखामा खाता निर्माण
-गोले तामाङ बंश उत्थान समाजबाट पनि सहयोगको लागि बचन प्रतिबद्धता व्यक्त
-घिसिङ समाज नेपालबाट सक्दो सहयोग र उपचारको लागि सहयोगको प्रतिबद्धता
-हेल्दी सिटिजन नेपालबाट रगत आबश्यक परेको कुनै पनि बेला उपलब्ध गर्ने प्रतिबद्धता
-जापानमा प्रबिना गोलेको लागि सहयोग रकम जुटाउन अभियान चलाउदै गरेको कुमार मोक्तान र शिक्षा शान्ति वाइबाद्वारा जानकारी प्राप्त
-इजरायलमा रहेका विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता
-अन्य देश, विभिन्न संघसस्था तथा व्यक्तिबाट सहयोग गर्ने बचन प्राप्त

प्रबिनाको पछिल्लो जानकारी:
गत आइतबार बिहान ११:१५ देखि आइ.सी.यु. वार्ड, तेश्रो तल्लामा राखिएको थियो ! उनको श्वास्थ्य-स्थितिमा क्रमिक सुधार आएकोले आइ.सी.यु. बाट नर्मल वार्ड ४११C मा शिफ्ट गरिएको छ !

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।