Visual Inspection...

काठ्माडौंबाट धेरै टाढा पनि होईन, तर थोरै काठ्माडौंबाट पर रहेको स्यूचटार गा.बि.स. हसनटार वडा नं. ९ (जुन अहिले नगरपालीका हुँदै वडा १४ भएको छ) गाउँमा पुग्यौं । बिशेषगरी कुन घर सुरक्षित छ, कुन छैन भन्ने जाँच्न र स्थानियसँग प्रत्यक्ष साक्षात्कार गर्दै भवनका बिवरण संकलन गर्न हामी ७ जनाको प्राविधिक टोली पुगेका थियौं । केही घरहरु Piller system, त्यसबाहेकका घरहरु ढुंगा र माटो अनि काँचा ईट्टाका Load bearing wall का थिए । केही घरहरु सामान्य मर्मतपछि बस्नयोग्य थिए, केही घरहरु पुनर्निमान गर्नुपर्ने र ४०-५० घरहरु पूर्णरुपमा क्षति भएर अर्को निर्माण गर्नुपर्ने अवस्था देखियो ।

ईन्जिनियर लेखिएका ज्याकेट, परिचय पत्र, टाउको सुरक्षामा पहेलो safetymate को साथमा थियौं । हाम्रो टोली एक ठाउँका लागि निरीक्षण गरिरहँदा, 'सर हाम्रो घर पनि हेरीदिनोस् न' को आवाज हाम्रा कानहरुमा गुन्जिरहन्थे । गरिबी र सम्पतिको नाममा तेही एउटा घर त्यै पनि भत्किन लागेको र भत्किएर ढुंगा-माटोको थुप्रो बाँकी हुँदा निराश स्थानियहरु थिए । सरकारको नामबाट कुनै राहत नपाईएको, असुरक्षित घरहरु थाहा पाउँदा समेत पनि तेही बस्नुपर्ने बाध्यतामा आफूलाई होम्याईदै थिए ।

मनलाई नै भावुक बनाउने केही दृश्यहरू सारांशमा लेख्न चाहें । हरिमाया लामाको आँखामा आँशु स्पष्ट रसाउँदै थियो । एस.एल.सी. दिएको छोरो र बिहे गर्न बाँकी छोरीलाई छोडी श्रीमानले अर्कै कान्छी श्रीमती ल्याएर बसेका, हरीमायाका घरका भित्ताहरु चर्किएर भत्किन ठिक्क परेर बसेका थिए । अनि थप्दै थिईन्, 'तपाईहरुजस्ता ईन्जिनियरहरु आउनुहुन्छ, बस्न हुन्न भन्नुहुन्छ । कहाँ जानु? पानी छेक्न पाल छैन, घर मर्मत गर्न पैसा छैन ।' हामीलाई ती प्रत्यक्ष नाजुक दृश्यहरुले भावुक बनाईरहेथ्यो । तेही तल्लोपट्टी महोदय लामाको घर थियो । लामा त्यस ठाउँमा जेहोस् सबैले चिनिने परिचित नाम रहेछ । महोदय लामाले त्रिपालको ब्यबस्था गर्ने वचन दिएपछि हामीले सान्त्वनाका केही सहायता दियौं ।

मान्छेको भावना अनि श्रमसँग प्रत्यक्ष सम्बन्ध राख्ने ठाडो घर ढलेको बेला संसारै ढलेजस्तै हुन्छ सायद । एक बूढी आमा (लगभग ७५-८० बर्षकी) हाम्रा टोली आउँदै गर्दा उनका कुराहरु सुनाउन हत्तार भएजसरी बाटैमा बसी 'नमस्कार बाबूहरु । हजुरहरु बल्ल आउनु भो । यस्तो बुढेसकालमा मेरो यही घर बंगल्यांगै लड्यो । म बूढी मान्छे कहाँ जानू ? ओछ्याउने केही छैन । तपाईहरुले भनेपछि सरकारले हामीलाई नि केही दिन्छ कि । भनीदिनु पर्यो बाबूहरु ।' हामी अकमक्क पर्यौं अनि हामी त्यहाँ जानुको उद्धेश्य खोलेपछि बल्ल बुझेजस्तो गरी निन्याउरो मुख लाउँदै हेरेर बसीरहिन् ।

हामी निकै बेर हरीनारायन साहका घरमा अडीरह्यौं । Piller system को घर भएतापनि यसभन्दा अघिको भुकम्पले घरका आँगन धस्सिएको रहेछ । जसोतसो मर्मत गरेर टालटुल पारी छोपेका चीरा यसपालीको भूकम्पले स्पष्ट देखिएछ । हरीका जीवनसंगिनी भन्दै थिईन्, 'बल्ल कमाएर एउटा घर किन्यौं । यसको ऋण पनि तिर्न नपाई घर नै भत्किने भो ।' घर सम्पूर्ण रुपमा अबलोकनपछि सुरक्षित नभएको कुरा टोलीको निर्णय हुँदा पनि 'भत्काउनू' भन्न नसकेका थियौं । घर बनाउन अनुपयुक्त ठाउँ, भिरालो जग्गा, बर्षातको बेला पानी percolate भएर Slope failure को chance, जग मजबूत नभएको उनका घर ठिंग्रिंग उभिएको मात्र देख्दा कतै सुरक्षित छ कि बस्न भन्ने आश पलाएको रहेछ । घर हेर्दा आकर्शक भएपनि ठेकदारले टालटुल गरेर घरको नाममा घर मात्र बनाएका असुरक्षित लागेर बेचेका रहेछन् ।

घरहरु भत्किनै लागेका थिए । तर भत्काउने मान्छे पनि नपाएका र भत्काएपछि कसले बनाउने भन्ने चिन्ताले खाँदै थियो । सरकारको नामबाट त्रिपाल पनि नपाएर स्थानियहरू नै किन्न जाँदा बजारमै नभएको गुनासो थियो । जिल्ला काठ्माडौं भनिएतापनि काठ्माडौंको सुविधाबाट पर रहेका यी स्थानियहरुको अबस्था थाहा पाउँदा सिन्धुपाल्चोक, रसुवा लगायतका बढी प्रभाबित मान्छेहरुका हालत कस्तो होला, सोचीरहें ।

,

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।