Gosaikunda Trek...
बालाजु हुँदै सुरु भएको हाम्रो यात्राले ओशो तपोबन, नुवाकोट हुँदै रसुवा हानिएछ । छतमाथि सरर हावा, बेलाबखत जंगलको बाटो हुँदै जाँदा रुखका पातहरुले नराम्ररी थप्पड मारिदिन्थे । बाक्ला ती हुस्सु र कुँहिरोले किचिरहँदा मुखबाट धँुवा नै पो निस्किन्थे । रसुवा, हिमाली भेग त्यसैले चिसो हावाको स्पर्श शरिरसम्म पुग्नु अस्वभाविक मान्न सकिन्नथ्यो । गाडी गुड्ने बाटोलाई पहिरोले दनक दिदाँ सडकले आफ्नो खुट्टा गुमाउन विवश थिए । खुट्टा गुमाएका सडकले गाडीका पांग्रालाई सम्पूर्ण रुपमा धान्न मुस्किल थियो । त्यसैले हाम्रा पाईलाहरु अघि सार्नैपर्ने एक वाध्यत्मक अवस्था थियो ।
चिसो स्याट (आवाज निकाल्ने चिसो वायु), शीतलहर र एकैखाले मौशमले आफ्नो प्रभुत्व जमाउन नसकेको ठाउँ त्यसैले ब्यागको डाउन ज्याकेट मेरै शरीर ढाक्न बसेझै लागेर घल्र्याप्प शरीरलाई छोप्नेगरी लाईदिए । केही समयको हिडाई संघर्षपछि हामी धुन्चे पुगिएछौ । धुन्चे पुग्दासम्म सबै उत्साहित मनहरु नौलो ठाउँको अनुभव लिन आतुर देखिन्थे । बजारको रमकझमक निकै देखिन्थे । चिसो, त्यसैले सल्किएका आगोहरुको छेउमा धेरै पल्किएका देखिन्थे ।
धुन्चे पछि भने ट्रेक सुरु । धुन्चेबाट अर्को नजिकको बस्ने ठाउँको नाम देउराली थियो । समयलाई ख्याल गर्दै सोध्यौं, “देउरालीसम्म पुग्न कत्ति समय लाग्ला?” जवाफ “करिब ३ घण्टा जति” । रातले दिनलाई निल्न समय लगभग ४–५ घण्टा बाँकी थियो । हिड्यौं, करिब आधा घण्टाको कडा मेहेनतमा हामी केही घरहरु भएको स्थानमा पुग्यौं र सोध्यौं, “देउराली पुग्न कत्ति समय लाग्ला?” जवाफ “४ देखि साँढे ४ घण्टा जत्ति लाग्ला ।” आधा घण्टाअघि सोध्दा ३ घण्टा लाग्ला भनेको बाटो झन् ४ या साँढे ४ घण्टा लाग्ला भनेसी हामी केही अत्तालियौं । बाक्लो रुख, र तिनका पातहरुले जमिन र आकाशबिच पर्खाल नै खडा गर्दै थिए । ठाडो उकालो बाटो, हल्का पानी पर्दा रुखका पातहरुले टक्टकाएका पानीले मेरो शरीरको नबिझिएको कुनै ठाउँ थिएन । फेरी ती जुकाहरुलाई पनि मेरै शरीर प्यारो, लपक्कै टाँसिदिने । नअघाएका जुकाको टोकाई थकाईले गर्दा चाल पाईन्न थ्यो तर केही बेरको टोकाईपछि अघाएकाहरुको टोकाईबाट चिलाउदा औला पुग्ने गथ्र्यो । तिनका ती टम्म फुलेका शरीर किचिक्क पारेर फुटाउन कम्तको मज्जा आउन्न थ्यो हेहे ।
हिड्यौं, १ घण्टा, २ घण्टा हुदैं ४ घण्टासम्म लगातार । लगातारको हिडाईपछि पनि त्यो देउराली कुन विरानो ठाउँमा थियो कुन्नी, टाढाटाढासम्म बाट पनि नजिकिदै छौं भन्ने संकेत दिदै थिएन । निकुञ्जको जंगल, निकुञ्ज भएपछि जनावर हुन्छ भन्ने सामान्य दिमागले अनुमान गर्ने कुरा थियो । उकालो बाटो, शहरको तेर्सो बाटो मात्र हिड्ने बानी परिसकेको थियो हामीलाई । हाम्रा थकानलाई डरले किचिरहदाँ पाईलाहरु जोडतोडका साथ अघि बढ्दै थिए । रात छिप्पिदै थियो, आकाशमा ताराहरु उदाईसकेको अवस्थामा सूर्यको किरणको आश तत्कालिन गर्नु मूर्खता थियो । दुई मित्रहरुको पाईलाको चाल अलि चाडो भएको कारण हामी बाँकी साथीहरुभन्दा २० मिनेट चाडो पुगिएछन् । टाढाबाट प्रकाशको एक तेज किरण आउदाँ बाघ आयो कि क्या’ हो भनेर म मनमनै नतर्सेको कहाँ हो र? सानोमा आमाले राती बाघको आँखा टल्किन्छ भनेर कथा जो सुनाउनु भा’ थ्यो । अरु साथीहरुले भने बल्ल आईपुग्यौ भनेर भनेको स्थितीमा मेरो मन ढुक्कसँग शान्ता भएको अवस्था थियो ।
विहान उठ्यौ, हुस्सु र कुहिरो पनि खै कता पो घुम्न निस्केछन् । आखाँहरुले टाढा टाढासम्मको दृश्यहरुलाई समेत नियाल्न भ्याएका थिए । सामान्य चिया–नास्ता पेटमा हुर्याउदै पाईलाहरुलाई अगाडि बढायौ । एउटा नयाँ कुरा के थाहा पायौं भने, एक घर बराबर एक गाउँ । अर्थात एउटा घर भेट्नेवित्तिकै त्यो गाउँको नाम अर्को ।
३ घण्टापछि अर्को गाउँ भेटिन्छ भनेर भनेको जानकारीलाई विश्वास गरेर हिड्दा साँढे दुई घण्टामै सम्बन्धित ठाउँमा पुगेछौं । देउरालीबाट करिब ९-१० घण्टाको लामो हिडाइमा हाम्रो पाइला गोसाइकुन्ड टेक्न सक्षम भा'थ्यो । थप तस्बिरहरु यहाँ छन् ।
0 comments
हामि सल्लाह, सुझावको आशा राख्दछु !