लाग्छ टुँडिखेल सोनाम ल्होछारकै पर्खाइमा दिन बिताइराखेजस्तो:

तामाङहरुमा छाएको ल्होछार रौनक ः
ल्होछार नजिकिदै गर्दा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरुलाई अगाडि सार्ने माहोल नै सिर्जना भएको छ । यतिखेर विशेष गरी तामाङ कलाकारहरु कता तिरको कार्यक्रममा आफ्नो प्रस्तुति दिने भन्ने कुराको दोधारैमा परेका छन् । अनि विभिन्न तामाङ संघसंस्थाहरु ल्होछारको विशेष तयारीमा जुटिरहेका छन् । छिमेकी गाउँको भन्दा आफ्नो गाउँमा ल्होछार भब्य रुपमा भित्र्याउने तयारी गर्दा प्रतिस्पर्धाबाट रौनक छुट्टै खडा नै हुने हो कि अनुमान सहजै गर्न सकिन्छ ।

गाउँघरतिर आफन्तहरुको पर्खाइमा दिन गनिरहेका छन् । दज्र्यूको लागि बास ठिक्क पार्दै काट्ने तयारी गर्दै छन्, अनि पल्लो घर वल्लो घर मायाको गुन्जायजले भर्दै छन् । घरका भित्ता अनि पर्खालहरु सेतो र रातो रङ्गले सुन्दर सजाउन थालेका छन्, त्यही छेउमै कोइलासँगै स्युक्पा बाल्न थालेका छन् । आहाँ बास्नै हरर !! लाग्छ अब त ल्होछार सबैको घरघरमा पस्ने भो !

टुङनाको मधुर धुन, डम्फूको डमडम आवाज, त्यसमाथि स्वरको सुन्दर मेल, धामीझाँक्रीको छुट्टै नाच, अनि त्यसैमा तन्नेरतन्नेरीको सहभागिता । काठ्माडौंको टुडिखेल लाग्छ भब्य सोनाम ल्होछारकै प्रतिक्षामा दिन कटाउदै बसिरहेजस्तो ।

ल्होछारमा लगाउने पहिरणको सन्दर्भमा ः
तमाङहरुले लगाउने ड्रेसको बारेमा चर्चा गनुपर्दा, फरकफरक मत पाउन सकिन्छ । पुरुषहरुले लाउने ड्रेसमा भने एक खाले समानता पाइन्छ भने महिलाहरुले एक खाले बिवाद नै पाइन्छ । पुरुषहरुले टोपी, दाउरा सुरुवाल र त्यसमाथि सेतो वा रातो बाक्लो खाडीको बाक्ला कपडा । महिलाहरुको सवालमाः कसैले गुरुङहरुले प्रयोग गर्ने रातो खाले गुन्युचोली, कसैले हिमाली भेगको श्यार्पिनीले लगाउने बख्खु लगाइएको पाइन्छ । कुन चाहि तामाङहरुले लाउने भन्ने विषयमा प्राप्त यी अन्यौलताले “पहिरण विहिनताको अबस्थामा तामाङ महिलाहरु”लाई डोहो¥याएको छ ।

त्यसैले यस बारेमा भेषभूषा विशेषज्ञ वा ज्ञाताहरुसँग बसेर छलफल हुनु जरुरी देखिन्छ । हाम्रो पनि एक छुट्टै “तामाङ हुनुको गर्व” पहिरणबाट झल्काउन सके अझ राम्रो हुने थियो । हामी आफैमा रहेको द्धिविदाले थप द्धिविदा खडा हुनु दुर्भाग्य नै हुनेछ ।

खानेकुराको सन्दर्भमाः
ल्होछारमा आफैले तयार पारेका विभिन्न परिकारहरु खाने गरिन्छन् । जस्तोः छेमार(मकै, गहँु र जौको पीठोलाई मिलाएर बनाइएको परिकार), दुच्ची, खाप्सी, रोटी, फलफुल र यस्तैयस्तै परिकारहरु । केही आधुनिक परिकारहरुले मौलिक परिकारहरुलाई विस्थापित गर्ने अवस्था पनि आएको छ ।

विगतमा टुडिखेलमा मनाइने ल्होछारको प्रकृति हेर्दाः
“ल्होछारको दिनमा त टुडिखेलमा ठूलै कन्सर्ट पो हुन्छ त” झ्वाट्ट हेर्दा बाहिरको मान्छेहरुले अनुभव गर्ने चीज हुन् यो । हुनु पनि हो, कुनै ठूलै ब्यान्ड वा ब्रान्डले गरेको म्यूजिक सो जस्तो । गायकगायिकाहरु पनि मौलिक झल्काउने गीतहरुभन्दा पनि ¥याप, पप गीतहरुलाई प्राथमिकता दिन्छन् । लाग्छ स्वर “जवरजस्ती गोक्राएर निकालिएको जस्तो” ।

दुःखलाग्दो कुरा के छ भने “हामी तामाङहरु रमाइलो गर्न र नाच्न गाउन भनेपछि जताबाट जसरी नि उपस्थिती जनाइहाल्छौं तर सैद्धान्तिक र बौद्धिक पक्षलाई नियाल्ने हो भने सारै न्युन देखिन्छ । तामाङ समुदायविच दुई समूहवीचको ठूलो खाडल छ । त्यो हो “उच्च(आर्थिक, सामाजिक र राजनैतिक रुपमा) र अर्को समूह सत्रौ शताब्दीलाई अबलम्वन गरेजस्तो(चुलो चौकामा नै दिन कटाउने तामाङहरु)” । जबसम्म यी दुई वीचको खाडललाई पुर्न सकिन्नौ तबसम्म हामीले सोचेको तामाङ हित गछौं भन्ने सपना केवल सपनामै मात्र सिमीत हुने देखिन्छ । हामी रमाइलोमा मात्र भुलेर कदापी हाम्रो हितका कुराहरु र संस्कृतिको जगेर्नाका सवालहरुलाई सम्वोधन गर्न सकिन्नौं, त्यसैले सिद्धान्तत पनि तामाङहरुमा जागरण ल्याउनु जरुरी देखिन्छ ।

च्याङबा र मैच्याङ टुङना र डम्फूको तालमा होइन, आधुनिक रक र पपको तालमा रमाउन चाहन्छन् । त्यही छेउमा आफन्तहरु हुन्छन्, ख्यालै नराखी उफ्रिदिन्छन् धूलै उड्नेगरी । बेढङ्गको त्यो उफ्राईले गलाउछन् शरीर अनि विलिनताको शक्तिको अवस्था ।

अनि भाषान दिने क्रममा नेताले झै भाषन गर्न तम्सिन्छन् देशको चिन्ता ठूलै भाको जस्तो गरी । त्यहाँ तामाङहरुको मौलिक र सांस्कृतिक पक्षको चर्चा पाइन्न । यस्तो हुदा तिनीहरुले वोलेका शब्दहरु बलुवामा पानी हालेजस्तो हुन्छ,,,जति पानी हाले नि अर्थहिन ।

ल्होछार के कसरी मनाइन्छ भन्ने सन्दर्भमाः
ल्होछारको पूर्व तयारी, ल्होछारको दिन र ल्होछार समापन ठाउँअनुसार फरक हुन्छन् । मेरो गाउँ प्रसँगलाई अलिकति जोड्न रुचाउछु । ल्होछार आउनुपूर्व बाटो, धारा, आफ्नो घर लगायत सम्पुर्ण सार्वजानिक स्थलहरु सफाचेट पार्छन् । दज्र्यू गाड्नको लागि घरको अगाडिको चौघाट सफा राख्छन् ।

ल्होछारको एकदिन अघि सबै भेला हुन्छन् । पुरानो वर्षलाई जे जस्तो भएपनि विदाई गर्छन्, गुम्वातिर नाङसाल बाल्न जान्छन् आत्मा शान्तिको लागि । आफन्तहरुबीच शुभकामनाको भब्य आदानप्रदान नै हुन्छन् । ठूलाबडाबाट आशिर्बाद प्राप्त गर्छन् । साझमा परिवारको सुखशान्तिको लागि दिपावली गर्छन् ।

ल्होछारको दिन, पारिवारिक भोज सामुहिक भोजहरुको आयोजना गर्छन् । ठट्टा गफ हकाईको मिश्रण मिठो परिकार सँगै । ताम्बाको गीत बज्दै गर्छन् छेवैमा, अर्कोतिर मीठो भोजनको आनन्द लिइरहेका हुन्छन् । आफ्नै हातले बनाइएका मिठामिठा अनि रसिला परिकारहरु सामुहिक भोजनमा चखाइदिन्छन् । छोरीचेलीहरुलाई पनि निमन्त्रना दिदा जमघटको रौनक छुट्टै हुन्छ ।

अनि त्यही दिन लामालाई बोलाएर सारसेरग्याम गर्दै, प्रतेक घरको सामू दज्र्यू गाड्ने गरिन्छ । टोटलाको फूल, कलशको शुद्ध पानी छर्किदिन्छन् । शुभकामना आदानप्रदान त हुने नै भो ।

त्यही दिन विभिन्न झाँकी तथा सांस्किृतिक प्रदर्शनहरु पनि गर्ने गर्छन् । सामूहिक भोजको आयोजना पछि आफ्नै टोलटोलमा राती अबेरसम्म पनि ल्होछारको विभिन्न कार्यक्रमहरुलाई देख्न सकिन्छ ।

ल्होछार समापनमा पनि विभिद खाले कार्यक्रम हुने गर्छन् । जस्तो भेटिएका आफन्तहरुलाई भोज खुवाउदै अर्को ल्होछार आउदासम्मको लागि विदाई गर्ने, आशिर्वाद लिने । अनि केही सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने ।

कुन ल्होछार तामाङहरुको हो त ?
हुन त बेलावखत ल्होछारको सन्दर्भमा विभिन्न खाले सभा गोष्ठीहरु पनि गरेको पाइन्छ । तर पनि ती सभाहरुबाट निष्कर्श विहीनताको अवस्थामा टुङ्गिने गर्छन् । नेपालमा तीन खाले ल्होछार लाई फरकफरक तिथीमितीमा मनाइने गरेको पाइन्छ । कहिलेकाही हाम्रा तामाङ समाजका बुद्धिजीवि भन्न रुचाउनेहरु नै कुन ल्होछारलाई मनाउनुपर्छ भन्ने कुरामा विवाद आएको पाइन्छ । जस्तो कसैले शेर्पाहरुले मनाइने ग्याल्पो ल्होछार हामी तामाङहरुको हो भन्ने गर्छन् भने अर्कोतर्फ आम तामाङ समुदायका मान्छेहरु सोनाम ल्होछारलाई आफ्नो हो भनेर राय ब्यक्त गर्छन् । यस्तो हुनु वास्तवमै हाम्रो लागि नराम्रो र नरमाईलो पक्ष हो ।  त्यसैले अध्ययणको शख्त जरुरी देखिन्छ यहाँनेर ।

कसरी अपनाइनुइनुपर्छ त ल्होछार भन्ने सन्दर्भमाः
हामीले अहिलेसम्मको अवस्थामा पनि ल्होछारलाई प्रतेकको घरघरमा भित्र्याउन सकेका छैनौं । अझ भन्नैपर्दा कतिपय ठाउमा त “ल्होछार के हो र कसरी मनाइनुपर्छ” भन्ने कुरा नै थाहा नभएको अवस्था छ । त्यसैले हामीले ती नबुझेकाहरुलाई ल्होछार के हो भन्ने कुराको बोध दिलाउनुपर्छ । टुडिखेलको प्राङ्गनमा मात्र होइन, हामीले प्रत्येक तामाङको घरघरमा ल्होछारलाई भित्र्याउनुपर्छ । अनि मात्र भन्न सक्छौ “ल्होछार हाम्रो गर्व” हो भनेर ।

मणिकलाल घिसिङ तामाङ

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।