सिर्जनशिल बाल सेवा परिवारलाई शैक्षिक तथा खाद्यान्न सहयोग हस्तान्तरन


केही समय अघि भान्जा बाबुको जन्मदिन मनाउने क्रममा गोठाटार स्थित सिर्जनशिल बाल सेवा परिवारको आँगन टेकेका थिएँ । त्यो बेला टन्न खुवाउन नपाउँदाको अतृप्‍त चाहना मनमा ज्युँदै । एउटा अबसर कुर्दै थिएँ, कुन् बहानामा त्यता पुगूँ । केही तस्बिरहरु र त्यहाँका अवस्थाहरुको थोरै व्याख्याले केही कोमलो मनहरु रसाएका प्रतिकृयाहरु प्राप्त हुँदै थियो । साङमो थोकरले सोद्धै थिई, "सर, हजुरले लेख्नुभएको कुराहरुले मन साह्रै रोएको छ । कसरी सहयोग गर्न सकिन्छ होला ?" म मार्फत गर्नसक्नुहुन्छ, भनेर जवाफ दिएको थिएँ । त्यत्तिखेरै उत्पीडित जाँगरन अभियान समाजको तर्फबाट सोनाम ल्होछारको बिशेष अबसर पारेर मिस्ठान्न भोजन गराउने प्रस्ताब समाजका अध्यक्ष गुञ्जमान लोप्चनले अगाडी सारेका थिए । सोचेँ, दुई सहयोगहरुलाई एकै चोटी गर्दा, त्यसको प्रभाबकारीता बढ्दो हुनेछ ।

नेपाल तामाङ घेदुङ साइप्रसका अध्यक्ष साङमो थोकरको बिशेष पहलमा, महासचिब लक्ष्मी ब्लोन, उपाध्यक्ष सबिता घिसिङले सहयोग रकमका निमित्त हात खुल्ला गरेका थिए । साइप्रस घेदुङका अध्यक्ष साङमो थोकरले भने, "अहिले ल्होछारको कार्यक्रम तयारी गर्नुपर्नेभएर तत्कालको लागि साथीहरु ब्यस्त हुनुहुन्छ । यो रकमले के कस्तो आबश्यकिय चिजहरु बाड्न सकिन्छ, बाड्नुहोला ।" उत्पीडित जाँगरन अभियान समाजले खाद्यान्न र शैक्षिक सामग्रीहरुको निमित्त थप आर्थिक रकमको ब्यबस्था गर्दै यस कार्यक्रमलाई मुर्त रुप दिए ।

मिष्ठान्न भोजन गर्ने/गराउने उद्धेश्यले समाजको तर्फबाट बिहान ८:३० मा पुग्दा, उत्साहसहित स्वागत गर्न प्रतिक्षारत थिए । हाम्रा उपस्थितिमा सबैका मुहारमा आनन्दित हाँसो देखिन्थे । साथीहरु पकाउन लगिएका सामाग्रीहरु तयार पार्दै गर्दा, सो परिवारका छोराछोरीहरु हात छिटो छिटो चलाईरहेका झै देखिन्थे ।

सहयोग गर्न मन चाहिन्छ, मन हुनेहरुकै हात खुल्ला हुन्छन् । कोही हुनेका केही हुन्छन् तर कोही नहुनेहरुका झन् धेरै हुन्छन् ।उमादेवी बस्नेत सो परिवारको आमा भैइन् । अन्य संघसंस्था, Donor हरु सहयोगीहरु भए । कत्ति दिनपछीआज पिक्निक आएजस्तो भो, कतै सानो स्वरमा यी आवाज गुन्जिदै थियो । निकै बेर पछी खाना तयार भो । लाईन मिलाउँदै, उमेरले सबैभन्दा सानोबाट सुरु भो । अली पीरो अचार, मेहेनतले बनाएका तरकारी र परीकारहरु, त्यो भन्दा मिठो मानेर एकै पटक खाएका द्रिश्यहरु । साँच्चै मनलाई अत्यन्तै शान्त तुल्याईछोड्ने बहुमूल्य अमूल्य कुनै चिजजस्तो ।

अनुशासित । कसैले सिकाउनै नपर्ने । खाईसकेपछी आफूले खाएका झुठाहरु, टिप्दै पखाल्न सक्नेहरुले आँफै पखाल्थे भने नसक्नेहरुले पखाल्ने ठाउँसम्म पुर्‍याईदिन्थे । सानालाई अभिभाबक त्यही ठुलो भैसकेका नानीबाबुहरु नै पर्याप्त । शायद दु:ख बुझ्नेहरु, सानैदेखी सबै बुझ्ने हुन्छन् । सिर्जनशिल परिवारभित्रका सिर्जनातमक व्यबहारहरुले उपस्थित सदस्यहरुमा उत्साह थपिएको थियो । कोही बोल्नमा मिठो, कोही गाउनमा मिठो र कोही रमाइलो गराउनमा मिठो । सिर्जनशिल परिवारभित्रको सिर्जनात्मकताको झल्को । आजकै दिन, रिजल्ट आउँदा केही त्यसकै बारेमा कुराहरु गरीरहेका हुन्थे । एक अर्काप्रति माया दर्साई रहेका हुन्थे । कोही खेल्न तिर ब्यस्त । एक प्रसंगमा क्यारम बोर्ड तयार पार्दै थिए, बसेँ । ती कलीला औँलाहरुलाई खुशी मिलोस् भनी, मैले मेरा पाका औँलाहरुलाई खेल्न नजानेजस्तै गर्दै थिएँ । साथीहरु आफ्नै कार्य क्षेत्रमा ब्यस्त हुनुपर्ने भएकोले बिदाईको तयारी भाईरहँदा भएभरको खाँदै, बोर्ड खाली गरीदिँदा मैले नजानेको अभिनय गरेको ठ्याक्कै पत्ता लाउन भ्याईहाले । हाहा ।

परिचयत्मक कार्यक्रम चल्यो । सोही क्रममा परिवारका सन्चालिका बस्नेतले धन्यवादका शब्दहरु ब्यक्त गर्दै, "मैले यी सबै नानीबाबुहरुको आमा बन्न प्रयास गरेँ । मेरो यो प्रयासलाई यहाँहरु जस्तै बिशाल मन हुनेहरुकै कारण आजसम्म यहाँसम्मको सहज यात्रामा छु । म मात्रको प्रयासले संभब थिएन । तेसैले यो परिवार मेरो मात्र परिवार नभएर, सम्पूर्ण सहयोगी मनहरुको परिवार हुन् ।" उनका छोरा छोरीहरु अब केही बर्षपछी बिहेगर्न लायकका हुनेछन् । उमेरले जवानी चढेका छोराछोरीहरुलाई, बेलाबखत जिस्कीईरहन्थे । दु:ख अनि संघर्षका कथाहरु धेरै थिए उनीसँग । बर्षको ४० हजार तिरेर ११ बर्षदेखी संस्थालाई बोकीरहेकी उनको कथा सुन्न अझै धेरै बाँकी थियो । समय निकै कम् थियो । सधैं अरुको मात्र आश गर्नुहुन्न । छोरा छोरी भोली ठुलो भएपछी उनले जस्तै धेरैलाई माया बाड्न सक्ने सक्षम हुँदा, उनको लागि त्यो खुशी, सबसे महंगो उपहार हुने बताए ।

उत्पीडित जाँगरण अभियान समाजका अध्यक्ष गुञ्जमान लोप्चनले खुशी ब्यक्त गर्दै भने, "सामाजिक कार्यमा यस खाले कार्य पूण्य कार्य हुन् । ल्होछारको पावन अबसर पारेर एक दिनको लागि खाना खुवाउने हाम्रो चाहना पुरा गरेका हौँ । संस्थाले बिगतको सामाजिक सेवाहरूलाई निरन्तरता दिँदैं, यही माघ २९ गते निशुल्क रुपमा स्वास्थ्य सिबिर संयोजन र ब्यबस्थापन गर्ने छ । र यसबारे बिस्त्रित विवरण पछी आउने छ ।" त्यसैमा थप्दै भने, "सबैमा अनुरोध, सामाजिक कार्यमा आफूले गर्न सक्ने सहयोग गरौं ।"

उत्पीडित जाँगरन अभियान समाजको तर्फबाट मदन ङेस्युर, उषा घिसिङ, मणिकलाल घिसिङ, लरिमाया बल, रमिता लामा, लाल कुमारी दोङ, फुल्मो घिसिङको संयुक्त टोली पुगेका थिए । सदस्यहरुले यसरी आएर सँगै खाँदाको स्वाद साँच्चै ठुला पार्टी वा क्याफेमा खाएको भन्दा धेरै स्वादिलो भएको संयुक्त अनुभब सुनाए । र आगामी दिनमा फेरि मौका जुर्‍यो भने भेट हुने बाचासहित बिदाईका हातहरु हल्लाए ।

प्रस्तुति :मणिकलाल घिसिङ तामाङ

थप तस्विरहरुको लागि यहाँ क्लिक गर्नुहोला ।











0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।