तामाङहरुमा जनचेतना र जागरणको लहर आएको छ

डा. क्यारिथन एस. मार्च 
प्राध्यापक, र्कोनेल विश्वविद्यालय, अमेरिका

डा. क्यारिथन एस. मार्च नेपालीमाझ चिनिरहनु पर्ने नाम होइन । अमेरिकाको न्युर्योकको इथिकास्थित र्कोनेल विश्वविद्यालयका प्राध्यापक हुन् । स्पष्ट रुपमा नेपाली र तामाङ भाषा बोल्नुहुने मार्च सिंगो नेपालीहरुको हितका लागि संविधान बन्नुपर्ने कुरामा आसवादी हुनुहुन्छ । प्राध्यापक मार्चले सन् १९७५ देखि तामाङ समुदायको बारेमा खोज, अध्ययन र अनुसन्धान गर्दै आउनु भएको छ । दर्जनौं लेखरचना, रिपोर्ट, कार्यपत्रलगायत तामाङ समुदायको बारेमा पुस्तक समेत प्रकाशित गरिसक्नुभएका मार्चसँग पत्रकार मानछिरिङ तामाङले अमेरिकाको इथिकास्थित उहाँकै कार्यकक्षमा गरेको कुराकानीको सारांशः

तपाई नेपालमा पहिलो पटक कहिले जानु भयो र अहिलेसम्म कतिपटक भयो ?

पहिलो पटक नेपालमा म सन् १९७३ मा नेपाली भाषा सिक्न ३ महिनाको लागि गएकी थिए । त्यसपछि मेरो पिचएडीको अनुसन्धान गर्न २ वर्ष नेपाल बसे । अनि धेरै पटक गए, सम्झिन पनि गाह्रो छ ।

तपाईको अनुसन्धान कुन विषयमा थियो ?
२ वटा क्षेत्रमा मैले नेपाली महिलाहरुको बारेमा अनुसन्धान गरे । पहिलो पटक पूर्व ३ अर्थात सोलुखुम्बु जिल्लाको शेर्पा समुदायका महिलाहरुबारे अध्ययन र अनुसन्धान गर्ने अवसर पाए । अनि त्यसपछि पश्चिम १ नम्बर नुवाकोट, रसुवा र धादिङ जिल्लाका तामाङ समुदायको बारेमा अनुसन्धान गरे । १९७५ देखि अहिलेसम्म निरन्तर तामाङ समुदायको बारेमा अध्ययन–अनुसन्धान जारी छ ।

तामाङ समुदायको कुन चाहि विषयमा पिचएडी गर्नुभयो ?

मैले मानवशास्त्रमा पिएचडी गरेको हुँ । मानवशास्त्र भन्नाले मान्छेको चालचलन, धर्म, संस्कृति साथै उनीहरुको दुःख, सुख मानवीय जीवन पद्धतिका विविध पक्षहरुका बारे अनुसन्धान गरेको हुँ । मैले चाहि तामाङ महिलाहरुको बारेमा अनुसन्धान गरि एउटा पुस्तक पनि प्रकाशित गरिसकेको छु । तामाङ महिलाहरुले भोगेका दुःख, सुख, गीतसंगीत र गाउँघरमा उनीहरुले समाजमा खेलेको योगदानको बारेमा चर्चा गरेको छु । तामाङ समुदायमा एउटा परिवार चलाउनको लागि एउटी तामाङ महिलाले ज्यादै ठूलो भूमिका खेलेको हुन्छ ।

लामो समयदेखि तपाई तामाङ समुदायको बारेमा अध्ययन, अनुसन्धान गर्दै हुनुहुन्छ, तपाईको अनुभवमा तामाङहरुको अन्य आदिवासी जनजातिमा भन्दा कस्ता खालका फरक विशेषताहरु छन् ?
नेपालकै तामाङ समुदायको बारेमा खोज, अध्ययन र अनुसन्धान गर्ने विज्ञ, लेखक र तामाङहरुले नै यसबारे धेरै कुरा बुझ्नु भएको छ । मेरो आफ्नो अध्ययनमा पहिला तामाङहरुको आफनै स–साना राज्यहरु थियो । पछि नेपाल काठमाडौ उपत्यका कब्जा गर्ने योजना अनुसार पृथ्वीनारायण शाहले पहिला तामाङहरुको राज्यहरुलाई आक्रमण गरेको ऐतिहाँसिक दस्तावेज अहिलेसम्म सुरक्षित छ । काठमाडौं उपत्यकालाई आक्रमण गर्नुअघि सामरिक दृष्टिले महत्वपूर्ण मानिएको रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुरलगायत तामाङहरुसँग निकै ठूलो लडाई गरेको देखिन्छ । त्यसपछि पृथ्वीनाराण शाहले जितिसकेपछि त्यहाँका तामाङहरुको जग्गा जमिनसमेत खोसेको थियो । अहिले पनि धादिङको सेमजोङ दरबार, सेर्तुङ रहेको दर्धो राजाको दरबार, काभ्रेको तिमाल दरबार, रसुवाको गत्लाङमा रहेको दरबार लगायतका भग्नाशेष अवस्थामा रहेका दरबारहरु छन् । तामाङहरुको सम्बन्ध पश्चिमका गुरुङदेखि थाकखोलाका थकालीसँग पनि छ । यिनीहरुको आफ्नै भाषा, धर्म, संस्कृति र इतिहास छ ।

राजधानी काठमाडौ वरिपरिका जिल्लाहरुमा तामाङहरुको बाहुल्य बसोवास रहेको छ तर अहिलेसम्म उनीहरु हरेक क्षेत्रबाट पिछडिनुको कारण के होला ?
यो प्रश्न मलाई धेरैले सोध्छन् । तामाङहरु राजधानी वरिपरि भए तापनि होइन कि भएको हुनाले उनीहरुको हरेक क्षेत्रमा पछि परेका हुन् । त्यतिबेला राणाहरु चाहिने गरेका आवश्यकताहरुको परिपुर्ति सोझा, इमान्दार तामाङहरुलाई प्रयोग गरेको देखिन्छ । पश्चिम १ नम्बरकै कुरा गर्ने हो भने बुम्ताङबाट नेपाली कागज ल्याउनुपर्ने, म बसेको मानेगाङबाट बन्दुकको धुलो र राजगोठहरुमा काम गर्नुपर्ने बाध्यता थियो । त्यस्तै त्यतिबेलाको सात खोला धादिङ उत्तरी क्षेत्रका तामाङहरुले दाउरा तथा खानीहरु दरबारसम्म पुर्‌याउनुपर्ने आदेश जारी हुन्थ्यो । वर्षको धेरैपटक उनीहरुले त्यतिबेला राणाहरुको आवश्यकता अनुसार काम गर्नुपर्योदे । त्यस्तै दरबारमा पनि राणाहरुको हरेक काममा तामाङलाई लगाइन्थ्यो । नेपालका आदिवासी जनजातिहरुमध्ये सबैभन्दा बढी दमन र शोषणको शिकार भएको समुदाय नै तामाङ हो । जसको कारण उनीहरुले आफनो जीवनशैली विकास गर्ने अवसर नै पाएनन् ।

विगत र अहिलेमा तामाङ समुदायहरुबीच कस्तो सकारात्मक परिर्वतन देख्नुहुन्छ ?

तामाङहरुमा अहिले धेरै नै परिवर्तन भएको देखिन्छ । त्यतिवेला हामीले अनुसन्धान गर्दा परिवार नियोजनबारे ज्ञान थिएन । एउटै परिवारको धेरै बच्चाहरु थियो । अहिले सानो परिवार र अनिवार्य स्कुलमा पढाएका छन् । त्यतिवेला १९७५ देखि १९७७ सम्म जन्मेको बच्चाहरु ४६ प्रतिशत भन्दा बढीले ५ वर्षको उमेर नपुग्दै अकालमा ज्यान गुमाउनपर्ने अवस्था थियो । अहिले त्यस्तो देखिदैन । त्यस क्षेत्रका तामाङहरुमा चेतनशील भइसकेका छन् । त्यस्तै म गाउँमा जाँदा विद्यालयमा महिलाहरु कोही पनि जाँदैनथे । म आएपछि एकैदिनमा ३० जना महिलाहरु विद्यालयमा भर्ना भए । अहिले झन शिक्षामा निकै ठूलो फड्को मारेका छन् । स्वास्थ्यको बारेमा पनि त्यतिबेला म हुँदा उनीहरुमा कुनै जनचेतना थिएन । नुवाकोट जिल्लाको मैले अनुसन्धान गर्ने त्यो भेगलाई त्यतिबेला लुम्बुगाङ भनिन्थ्यो त्यो भेग भरिमा एउटा मात्र चर्पी थियो । अहिले हरेक टोलटोलदेखि सबै गाविसहरुमा चर्पी आफैले व्यवस्था गरेका छन् । यसरी हेर्दा तामाङ समुदायले सामाजिक, आर्थिक, शैक्षिकलगायत विधि क्षेत्रमा आफूलाई परिर्वतन गरेका छन् ।

यस्तै, म एक घटना सुनाउन चाहन्छु । एकचोटी गाउँका दिदिबहिनीहरुले मलाई तामाङ पहिरन लगाएर त्रिुशली बजारमा लिएर जानुभयो । बजार पुगेकै बेला एक जना महिलाले मलाई देख्ने बित्तिकै ‘हेर त त्यो कुइरेनीले भोटे लुगा लगाएको भनेर भनिन् ।’ मैले पनि त्यसको जवाफ दिदै ती महिलालाई ‘यो भोटे लुगा होइन तामाङको पहिरन हो ।’ त्यसपछि ती महिलाले ‘ओहो यो कुइरेनीले त नेपाली पनि बोल्दोरहेछ भनेर भन्यो ।’

भन्नुको मतलब हिजोको दिनमा तामाङहरुलाई हेपेर ‘भोटे’ शब्द उच्चारण गर्दथ्थो । तामाङहरु पनि आफूलाई तामाङ भन्न लाज मान्दथे । आफ्नो जात लुकाएर लामा, घले भन्नुपर्ने बाध्यता थियो । तर अहिले उनीहरुमा निकै ठूलो जागरण र चेतना आएको देखिन्छ । अहिले हराउन लागेको इतिहास, भाषा, धर्म र संस्कृति जोगाउन कटिबद्ध छन् । शिक्षा, व्यापारमा पनि उनीहरुको निकै ठूलो विकास र परिवर्तन हुँदै गएको देखिन्छ । तामाङ युवा जमात अहिले भने तामाङप्रति गर्व गर्छन् ।

नयाँ बन्ने संविधानमा आदिवासी जनजातिहरुले उठाएको पहिचान सहित संघीयताबारे तपाईको धारणा नि ?
मेरो विषय मानवशास्त्र हो । अर्को यो मेरो विषय पनि होइन । यो महान कार्य सफल बनाउन सम्पूर्ण नेपालीहरुको गहन जिम्मेवारी र दायित्व छ । देशभित्र गृह युद्ध भएर सक्ने बित्तिकै संयुक्त रुपमा सरकार चलाएको नेपाल विश्वकै नमुना देश हो । म जस्तो नेपालको उन्नति, प्रगति र माया गर्नेहरुले पनि संविधान लेख्न कार्य पनि संसारकै नमुना बनोस भन्ने कामना गर्दछु । नेपाली भन्ने बित्तिकै जुनसुकै अप्ठयारो काम गर्र्न सक्छ भन्ने विश्वास भएकाले नेपाली जनतालाई संविधान ल्याई चाँडो भन्दा चाँडो दिई नेपाल र नेपालीको हित होस भन्ने कामना समेत गर्दछु ।

तामाङ राज्यहरुबारे डा. क्यारिथन एस. मार्च को अध्ययनमुलक प्रस्तुती:

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।