पहिलेदेखी अहिलेसम्म

सानोमा अली बदमास अनि बदमासको केही उल्पट्याङ बदमासी । त्यसबेला काठमाडौं आउदा नेफाल जान लागेको भनेर भन्ने गरिन्थ्यो । त्यो नेफाल कस्तो होला भनेर सानो मनले ठुलो कल्पना गर्थे । तामाङ भाषामा भनेर हो कि के कुन्नी हजुरआमाले "नेफाल" भन्दा मैले पनि त्यो शब्दलाई नबिगारी नेफाल नै दिमागमा सेभ गरेर राखेको थिएँ । पछी थाहा पाएँ काठमाडौंलाई सम्बोधन त्यत्तिखेर "नेपाल" भन्ने शब्दले गर्ने रहेछ । जसलाई उच्चारण गर्दा स्वर र शब्द नै परिवर्तन भएर नेफाल भएको रहेछ ।

कुरो 2049-2050 साल तिरको, बुवा प्रायस: काठमाडौं बस्नुहुने हुँदा मलाई काठमाडौं आउने ठुलो रहर थियो । त्यत्तिखेर हजुरआमाको आँखा उपचारको लागि काठमाडौं आउने कुरो थियो, म पनि हजुरआमासँग काठमाडौं छिरे । शहरको रङ्गिचङ्गीमा मन भुलिदा हजुरआमा फर्किसक्दा पनि यतै बसिरहे । उता गाउमा ममिले स्कूल भर्ना गरिसकेको, तर आफु शहरको हिरो कहाँ मान्थ्यो र गाउ जान । कुरो ठ्याम्मै नमिल्ने । मेरो व्यबहारले बुवामा केही हैरानी छाएकै थियो । बुवा त्यत्तिखेर थाङ्का लेख्नुहुन्थ्यो र राजनीतिक पार्टिमा पनि संलग्न । त्यसैले बिभिन्न नेताहरुको आवतजावत भई रहन्थे ।


बुवाको पार्टिको एक साथी गणेश बल (जुवारलाल) को बोर्डिङ थियो । त्यही बोर्डिङमा भर्ना गराउने कुरो थियो, फेरी आफुलाई बोर्डिङ स्कूल भनेसी सातोपुत्लो उड्ने । घुर्की लगाएको अझै याद छ, "स्कूल पनि जान्न, पढ्दा नि पढ्दिन" । बुवा खुबै फकाउनुहुन्थ्यो, नमान्दा नाथ्री फुट्नेगरी दिनु हुन्थ्यो । बाह्रखरी सिकाउन किताब किनिदिनु भो । अक्षरसँग भन्दा नि त्यसभित्रका रङ्गिन तस्बिरहरुमा ध्यान बढी । मेरो दिमागभित्र कुन पेजमा कस्तो तस्बिर भन्ने लगभग छाप बसेको थियो । तर सिकाउने क्रममा बुवाले "कपुरी क भन" भन्दा चुपो लागेर बसिदिन्थे, गाली गर्दा दिनभर रोइदिन्थे । "मेरो सानोबेलादेखिको खराब बानी, जुन गर भनेर कसैले अह्राउथे त्यसलाई मरिगए गर्दिनँ थे ।"  यो क्रम करिब 2बर्षसम्म चलिरह्यो, त्यसपछी गाउ फिर्ती ।

गाउ फर्केपछी भने ममा निकै परिवर्तन आयो । आफु सरह उमेर समुहका साथीहरु 2-3 class मा पुगिसकेको तर आफु भने भर्ना नि नभएको । मनभित्र एक खाले लाज , सबै स्कूल जादा लुकेर हेरिरहन्थे । पढ्ने इच्छाले मनलाई साह्रै टोक्न थाले । त्यत्तिखेर भर्नाको लागि 10/- रुपैया तिर्नुपर्थ्यो । आधा क्लास वा शिसु क्लास pass गरेपछी 1 class जान पाउने । शिसु क्लास पार गर्न नसकेर 3-4 बर्ष अल्झिएको केही विद्यार्थीहरु पाए । बुवाले बारम्बार दोहोर्याएर भन्नुभा' "कपुरी क" त्यहा पहिलोपटक उच्चारण गर्दा शिसु क्लास पढ्दै नपढी 1 मा भर्ना लिए ।

रमाउदै पढ्दा छिटो सम्झिने रहेछ । कबिताहरु प्राय: गाउदै पढाउने हुँदा 2-3 चोटिको रटान पछी कन्ठै । सानो बेला सबै बिषयको home work दिदा पुरा गर्न भ्याइनभ्याई हुन्थ्यो । सकिनसकी भ्याउनै पर्ने । दिना मिस, सुधा मिस, युमाया मिस, रिना मिस, पदमा मिस, ज्ञान बहादुर सर, नैन ब बैद्य सर, रामकुमार सर, रोमन सर पढाउनुहुन्थ्यो   ।

स्कूल प्रबेशको पहिलो बर्ष बितिसकेको थियो । रिजल्ट आउने दिन म पनि कट्टु, पातलो गन्जी लाएर चप्पलैमा कस्तो हुदो रहेछ भनी दाइको पछी लागेर स्कूल हुइकिए । 1st, 2nd and 3rd त्यही रिजल्ट आएकै दिन सुनाउने गरिन्थ्यो त्यसैले गोप्यता त्यही पुरस्कार बितरन समारोहमै हुने गर्थ्यो ।  । कक्षा 10 देखी 1 सम्मको रिजल्ट सुनाउदै थिए । अरुले पुरस्कार लिएको देख्दा आफुले नि लिन पाएँ हुन्थ्यो झै मनभित्र लाग्या थ्यो । रिजल्ट सुनाउने अन्तिम पालो थियो class 1 अर्थात मेरो क्लासको ! रिजल्ट  सुनाउने क्रममा 3rd म्हेन्दोमाया लामा(म्हेन्दो), 2nd साबित्री लामा अनि 1st स्वयम म अर्थात मणिकलाल घिसिङ । म आफ्नो नाम सुन्नेबित्तिकै जिल्ल परे । नजिकै दाई हुनुहुन्थ्यो, त्यत्रो मान्छेको भीड उछिन्दै पुरस्कार थाप्न जान लाज । दाइले जाउ भनेसी लजाइ-लजाई, डराई-डराई पुरस्कार बितरन गरेको ठाउँसम्म पुगे । पुरस्कार लिसकेपछी कहिले पो सबैलाई सुनाउन पाइएला भन्ने ठुलो हलचल मनमा थियो । अबिर लगाएर छोरो फर्किदा आमा पनि खुशी अनि स्याबासी पाए ।

अरु साथीहरुभन्दा बिल्कुल फरक स्वभावको थिएँ । अरु साथीहरु गुच्चा खेल्ने, पौडी खेल्ने बेला एक हूल बाख्रा र गोरु फुकाएर चराउन जान्थे । बाख्राहरु पाखातिर 2-3 घण्टापछी आँफै अघाएर आउँदा डोहोर्‍याएर लाने काम मात्र गर्नु पर्थ्यो । त्यत्तिन्जेल सम्म नदिको छेउछाउ गएर गोलो-बाटुलो ढुङ्गाहरु जम्मा गर्थे । कहिले ती ढुङ्गाहरु गट्टा खेल्नमा प्रयोग हुन्थे भने कहिले गुलेलिका मट्याङ्ग्राको रुपमा । म चरा मार्नको लागि गुलेली ताक्दिन थिएँ तर मलेवा(परेवा जातको पहरामा बस्ने पङ्क्षी) को हुलमा एक मट्याङ्ग्रो हुर्‍याउदा एक ठहरै गएछ । त्यो पहिलो र अन्तिम पङ्क्षी थियो मेरो हातबाट आफ्नो ज्यान गुमाउने । नदी नजिक हुँदा अलीअली भिजेको बालुवा अनि त्यही बालुवाको घर बनाएर हेर्न कम्तको मज्जा हुन्न थियो(ती दिनहरु सम्झिदा अहिले इन्जिनियर पढ्नुको सङ्केत त्यत्तिखेरै पो गरेको रहेछ झै लाग्छ) ।

म माछा मार्न भन्दा माछा मार्न प्रयोग गर्ने सामानहरु बनाउन निकै रुची राख्थे । गोलेङ(नेट) र ज्ञाङ(जाल) शायद 60-70 को सङ्ख्यामा बनाए पनि होला । एक नेट बुनेबापत ज्याला 200/- ड्याङ्ग्रङ्गै पो लिन्थे, जुन सकाउन  5-7 दिन लाग्थ्यो । त्यसो त एक चोटि 3kg को घोर्ले माछा पनि बल्छी बाट कहाँ नमारेको हो र? त्यही माछा आमालाई नै 20/- रुपैयामा बेचेको पो थिएँ ।

बच्चैबाट एक बानी, जुन काम गर्नुपर्ने हो त्यो काममा एक सुरमा घोत्लिरहने । म घरमा त्यत्ती पढ्दिन थिएँ । एकचोटी जेठ असारको समय, खेतमा मकै ठीक्क बढेको अवस्था । बाँदर हेर्न गकै बेला किताब कापी लगेर गा' थिएँ । पढ्दै गर्दा एक बथान बाँदरले अर्कोतिर बाट आएर मकै ध्वङ्स । बर्बाद.....।

म स्कूलमा प्रायस: कमै सँग कमै बोल्थे । बाटोभरिको साथी मिनलाल तामाङ हुन्थ्यो । उनको गफ सुन्दामा मख्ख हुन्थे । उनले बिशेष गरी नेपाली फिल्मको कहानी सुनाउथे त्यो पनि अभिनय सहित ।

शान्ता स्वभाव हुँदा कहिलेकाही अप्ठ्यारोमा पर्थे । त्यो सानो उमेर समुहमा "तिमिलाई त त्यसले पछार्छ" भन्ने सुर्‍याउने अनि सुर्‍याएपछी सके नि नसके नि त्यो मेरो सुइखुट्टे ज्यान भए नि जुध्नै पर्ने । त्यत्तिखेर "gang fight" भन्ने शब्द सुनिसकेको र प्रयोगमा आइसकेको थियो । एक समयको कुरा हो डहू र आन्तर टोल (आन्द्र) gang fight गर्ने कुरा । यता डहूको तर्फबाट शुक्र लामा, जनक लामा, सन्जिब घिसिङ, मिनलाल तामाङ र उता आन्तर टोलबाट हिक्मत लामा, मोती लामा, मिम लामा, मिक्मार लामा र अरु केही, तयार थिए । म डहूबाट नेत्रित्व गर्ने मान्छे नै डरले टाप । भोली पल्ट थाहा पाउदा घमासान नै पो परेको कुरा थाहा पाएँ । यो घटनाले गर्दा कैयौ दिनसम्म बोलचाल बन्द ।

कक्षाको प्रथम विद्यार्थीको हैसियतले मलाई मनिटर बनाइदिए । कोही Toilet जानुपर्ने भए मलाई भन्नुपर्ने, कोही बिरामी परे मैले inform गर्नुपर्ने । तर बोल्ने कुरामा साह्रै अप्ठ्यारो लाग्थ्यो । 5 कक्षासम्म पढ्दा केटी साथीहरुसँग 4-5 चोटिभन्दा बढी बोलेको रेकर्ड छैन होला ।

साथीहरुले अनेक नामले सम्बोधन गर्ने गर्थे । पढन्दास, किताबी किरो र यस्तै यस्तै । कुनै पनि chapter एकचोटि पढाएपछी याद भईराख्ने हुँदा दोहोर्‍याएर exam मा बाहेक पढ्नु पर्थेन । यसो भईदिदा साथीहरु बहुत मारमा पर्ने गर्थे । भन्नाले जुन च्याप्टर कन्ठ गर्नुपर्ने, त्यसमा आफु confidence भएपछी नआउने साथीहरु मारमा । सजाय दुई लट्ठी, पिट्दा छलाए तीन लट्ठी । फेरी लट्ठी लिन मै जानुपर्ने, कहिले बरको लहरा हातमा पर्थ्यो भने कहिले सतिब्रो(एक खाले रातो, फिक्का कालो फल फल्ने बोट) को डाम हातमा पर्थ्यो । केटाहरु सहजै सहन सक्थे तर केटीहरु सुक्क सुक्क गर्दा मनभित्र आँफैलाई कहाँ नदुखेको हो र !

नखाको भन्दा तर एक दिन चाँही मैले पनि पिटाइ हेडमास्टरकै खा'को थिएँ । 37 जना विद्यार्थीहरु थिए जम्मा । रोल नम्बर अन्तिम देखी सोध्दै आएको थियो । हिसाबमा जोडघटाऊ । पहिलो दिनमा सबै सोधेकाहरुमा पिटाइ नखाने कोही थिएनन् । अब पालो भोली मेरो पनि । स्कूल त गको थिए तर पिटाई खाने डरले त्यही पिरेडमा फरार । खासमा त्यो दिन पनि मेरो पालो नआको रहेछ । अनि भोलिपल्ट class मा सर आउनुभो । बाँकी 10 जना रहेछन् । त्यसमध्ये कसैले पिटाइ खाए कसैले खाएनन् । मेरो पालो आयो, हिसाब पनि मिलाइदिए तर पनि पिटाइ खाए । एक जनाले कुरा लाइदिहाले, "सर हिजो ऊ त हजुरको पिरेडमा भागेको ।" हेडमास्टर भनेपछी 1-10 सम्मकै विद्यार्थी अत्ती तर्सिने । भागेपछी सजाय स्वरुप दुई दरो झट्का लट्ठी खाए । शायद कहिल्यै लट्ठी नखाने मैले पनि लट्ठिको स्वाद चखाउदा क्लासका साथीहरुले सोच्दो हुँन् "ठीक्क पर्‍यो" ।

सुरुसुरुमा बानी बसाउन दुनट(गुनन) कन्ठ गराउथ्यो । कन्ठ गर्नेहरुमा अगाडि थिए शान्ति दोङ, साबित्री लामा, म्हेन्दो लामा, बिबेक लामा । मैले भर्खर 9 सम्म कन्ठ गर्दा यी साथीहरुले 19 सम्म कन्ठ गरेर भ्याइसकेका थिए । मैले बल्लतल्ल 12 सम्म चाँही पुर्‍याएकै थिए है ।

कक्षा 5 पढ्दै गर्दा तीन जना साथीहरु देले, राज कुमार लामा, सम्पूर्ण लामा,  काठमाडौंको बोर्डिङबाट भर्ना भएका थिए । त्यत्तिखेर कोहिले भनेका थिए, "4 सम्म त जित्ने कोही थिएन, अब त तेश्रो पनि हुन्नौ होला तिमी " । जीवनमा कहिल्यै 2nd नहुने म, क्रम भङ्ग भो भने आफ्नै बेइज्जत । exam राम्रो भएको थियो । रिजल्टको पर्खाइ, डरचिन्ता उत्तिक्कै । स्कूल गए, भद्रभलाद्मी अभिभावक, विद्यार्थीहरु जम्मा भईसकेका थिए । पालो मेरै class को रिजल्टको । 3rd पनि आउन्न यसपाली भन्थे, हो कि क्याहो जस्तो लाग्यो । 3rd पोजिसनमा एक क्लास सिनियर अनिल लामा fail भएको थियो तर class दोहोर्‍याउदा 3rd पोजिसन, 2nd मा सदा झै साबित्री लामा । अब प्रथममा कि मेरै नाम कि त ती बोर्डिङ बाट आएका साथीहरु मध्ये एक । पासाङ सर भूमिका बाध्दै नाम घोषणा गर्नमा सिपालु । यसरी सुनाउदै थिए,"कहिल्यै दोश्रो नभएको प्रथम ब्यक्तिको ठाउँ यसपाली अरुले नै ओगटेको छ ।" यी शब्दहरु सुन्नेबितिक्कै मन निरस तर शब्दहरु थप्न बाँकी रहेछ । "यसो भन्दा बिल्कुल गलत हुनेछ । उनी प्रथम मात्र होइन स्कूलकै सबैभन्दा बढी अङ्क ल्याएर "School First" भएको छ । मणिक लाल घिसिङलाई आफ्नो पुरस्कार लिनको लागि बोलाँउदछु " । त्यत्तिखेर गाबिस अध्यक्ष अर्थमान घिसिङको हातबाट 1000/- नगद, ह्याङला पुस्तकभन्डार दोभान्टारको तर्फबाट सुन्दर प्याकभित्र सजाएर दिएको 10 कपी, एक फाउन्टेन पेन । म हर्सले भित्रभित्रै नाचिरहेको थिएँ ।

माम सेती(उहाको छोरा इन्जिनियर हुनुहुन्थ्यो) ले भन्नु हुन्थ्यो, "ह्याङला इन्जिनियर एन खैमै दोश्रो आतामुबा छाया ह्राङनोन । लु ज्याना लासी पढप लाऊ, भबिस्यरी इन्जिनियर दोगाइ " अर्थात "हाम्रो इन्जिनियर पनि कहिल्यै दोश्रो हुन्न थ्यो तिमी जस्तै । राम्ररी पढ्नु, पछी इन्जिनियर बन्नु " । यसरी प्रेरणा पाउदा म पनि त्यस्तै बनुला पछी सोच्ने गर्थे ।

प्राथमिक तहसम्मको पढाई सकेर 2057-04-03गते साथीहरुलाई बिदा समेत नमागी काठमाडौं आए । साथीहरुबाट छुटेको 12 बर्षपछी सम्झिदा 37 जनामध्ये 34 जना साथीको नाम दिमागभित्र सुरक्षित रहेछ: साबित्री लामा (अम्रिकन ), अनिल लामा, राजकुमार लामा, चेत बहादुर लामा, चेत श्रेष्ठ, मिलन दोङ, सन्जिब घिसिङ (ढोलोङ ), लक्ष्मी लामा, म्हेन्दो माया लामा, सन्देश लामा (तैराज), शान्ति दोङ, बिबेक लामा (आखे ), मोतिलाल लामा, सुश्मा लामा, सम्पूर्ण लामा, प्रकाश घिमिरे, राम कुमार मैनाली, दन्छी लामा, मिनलाल तामाङ (वाला), मिम तामाङ, हिकमत लामा, मुकुर्ताई (बिनोदको भाई), शुक्र लामा दोङ, चन्द्रमाया तामाङ, अन्जु घिसिङ(डासा), जगतमान घिसिङ(मान्ताङ), देले,कबिराज लामा(कोपे), अमर बिरही लामा(कोक्टे), सुशिला लामा(खोल्टे), दिपक गौतम (च्यासे), भबिता लामा ..|

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।