उपत्यका स्तरिय बृहत भेला” सम्पन्न


२१ भाद्र, २०७१ काठमाडौं

मणिकलाल घिसिङ तामाङ
घिङि समाज नेपालले हालै “उपत्यका स्तरिय बृहत भेला” सम्पन्न गरियो । कार्यक्रम बौद्ध धर्म गुरु लामा कुसुमको प्रमुख आतिथ्य र घिसिङ समाजका अध्यक्ष बाबु घिसिङको सभाध्यक्षमा सम्पन्न भयो । विभिन्न संघसंगठन तथा समाजका विशिष्ट ब्यक्तित्वहरुलाई विशेष अतिथी र अतिथिको रुपमा आसन ग्रहन गराईएको थियो । कार्यक्रममा समाजसेवी, ब्यबासायी, कलाकार, गीतकार, पत्रकार तथा अन्य विशिष्ट ब्यक्तित्वरुका उपस्थिती रहेको थियो । कार्यक्रमलाई औपचारिकता प्रमुख अतिथि र बिशेष अतिथिहरुले दियो बाल्दै गरिएको थियो । त्यसपछि कार्यक्रममा उपस्थित सम्पूर्णलाई ताम्बाको गीतबाट स्वागत गरिएको थियो । संस्थागत स्वागत मन्तब्य घिसिङ समाज नेपालका महासचिब कुयाङ लामा घिसिङले राख्नुभएको थियो । संस्थाको प्रतिवेदन उपाध्यक्ष कुमार घिसिङले पढेर सुनाउनुभएको थियो भने सो प्रतिवेदनमाथि टिप्पनी तथा धिसिङ समाजमाथिको सुझावलाई लिईएको थियो । कार्यक्रमलाई दुई चरणमा बाँडिएको, पहिलो चरणमा अतिथिहरुको मन्तब्य र दोश्रो चरणमा उपस्थित दर्शक दिर्गाबाट भनाई सल्लाह सुझाव लिईएको थियो । कार्यक्रम संचालन निर्मला घिसिङ र महासचिब कुयाङ लामा घिसिङले गर्नुभएको थियो । कार्यक्रमबारे बिस्त्रित जानकारी र अतिथिलगायत अन्य सहभागिहरुको आवाजः

कुयाङ लामा घिसिङ, महासचिब–घिसिङ समाज नेपाल
स्वागत मन्तब्यमा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै घिसिङ समाज निर्माणले घिसिङ एकताको लागि कार्य थालनी हुनेछ भन्नुभयो । घिसिङ समाजले घिसिङ र घिसिङका सम्पुर्ण इतिहास खोतल्नुपर्ने काम जिम्मेवारी आएको छ बताउनुभयो । जत्ति पनि इतिहासका कुराहरु छन् ती ताम्बा, गान्बा, लामा लगायतका ब्यक्तिहरुका मुखमा छन्, त्यसैले ती घिसिङ सम्बन्धि पाइएका सम्पूर्ण तथ्यहरुलाई दस्ताबेजीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

योगेन्द्र लामा घिसिङ, सभासद–एकिकृत नेकपा माओबादी
घिसिङहरुको ईतिहासका र संस्कारको अध्ययन गर्दै जाँदा यसले महत्वपूर्ण दस्ताबेज लेखिने कुरा बताउनुभयो । यो घिसिङ समाजले जस्तै अन्य थरहरुले पनि आफ्नो पहिचान खोजिनुपर्छ र संमृद्ध तामाङ समाजको निर्माणमा सम्पुर्ण तामाङहरुको एकताबद्ध सहभागिताको आबश्यकता रहेको बताउनुभयो । सामाजिक र शैक्षिक रुपमा मात्र होइन राजनैतिक रुपमा पनि तामाङहरुलाई अघि सार्नपर्ने बताउनुभयो । 

कुमार घिसिङ, उपाध्यक्ष–घिसिङ समाज नेपाल
प्रतिवेदन प्रस्तुत गर्नुहुँदै, घिसिङ दाजुभाई दिदीबहिनी बीचमा मातृत्व एकता, कुल परम्परा र घिसिङ समाजको विकास समृद्धि लगायतका कार्यक्रम गर्ने अभिप्राय २०५७ सालमै प्रयत्न भएपनि राजनैतिक असहजता र तरलताका कारण दर्ता प्रकृया ढिला भएको तिक्तता ब्यक्त गर्नुभयो । उहाँले यसैमा थप्दै भन्नुभयो, हामी कसैले लेखेको र भनेको आधारमा घिसिङ भएका होईनौं तर हाम्रा पुर्खाहरुले चलाईल्याएका संस्कृति र संस्कारले विभूषित भएकाले घिसिङ भएका हौं । संस्थाका उद्धेश्य र कार्यबारे जानकारी गराउँदै तीन कार्यहरुलाई घिसिङ समाज नेपालले अगाडि बढाउने जसमा पहिलो घिसिङ वंशावली निर्मान गर्ने, दोश्रो घिसिङ एकता र कुल परम्परा सम्बन्धी अध्ययन गर्ने र तेश्रोमा घिसिङ समाज बिकास र समृद्धिको लागि कार्य गर्ने । त्यसका अलावा शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिने कुरा जानकार गराउनुभयो । उहाँले यो समाजको बिकास देशका विभिन्न जिल्लाहरु रामेछाप, ओखलढुङ्गा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, मकवानपुर, भोजपुर लगायतका जिल्लाहरु र अन्तराष्ट्रिय रुपमा फेसबुकमार्फत युरोप, अमेरिका, जापान, ईजरायल, कुवेत, दुवई, अष्ट्रेलिया, यूके, मलेशिया, भारत लगायतका देशहरुमा आबद्ध भएको कुरा जानकारी गराउनुभयो । त्यसैगरी संस्थालाई कायम टिकाई राख्नको र अन्य विविध कार्यहरु सम्पन्न गर्नको लागि ब्यबासायीक घिसिङहरुको समूह “घिसिङ ग्रुप” निर्माण गर्दै सुरुमा २÷२ लाखको दरमा संकलन गरेको रकम करोड हुँदै अर्ब हुन जान्छ र सो रकम तामाङ समाज संमृद्धिको लागि प्रयोग गर्न सकिने कुरा बताउनुभयो । 

जय गोले, अध्यक्ष–गोले तामाङ समाज
गोले समाजको निर्माण प्रक्रियाको बारेमा बताउनुहुँदै, जत्ति जत्ति तामाङहरु भेट हुन्थ्यो ती तामाङहरुको थर सोधी गोलेहरु खोजी एकताको मालामा उन्ने प्रयास गरिएको र सो कार्य गत जेठ ४ गते भेला हुँदै ऐतिहासिक रुपमा सम्पन्न भएको ब्यक्त गर्नुभयो । घिसिङ ईतिहास, घिसिङ सभ्यता, घिसिङ वंशावलीको निर्माण गर्दा सो सम्बन्धी अध्ययन गरेका विज्ञ, मानव शास्त्री समाज शास्त्री लगायतका अन्य विज्ञहरुलाई समाबेश गर्नुपर्ने बताउनुभयो । घिसिङ समाज नेपालको नाम घिसिङ तामाङ समाज राख्दा राम्रो हुने सुझाउनुभयो र तत्काल घिसिङ समाजको एक कार्यलय स्थापना हुनुपर्ने आवश्यकता औल्याउनुभयो । किनभने घिसिङ समाज सँग राष्ट्रिय रुपमा जोड्ने स्थान हुँदा कार्यहरु अझ ब्यवस्थित हुने जनाउनुभयो । 

कुलमान घिसिङ, महाप्रवन्ध निर्देशक चिलिमे जलविद्युत 
मुख्य रुपमा आर्थिक, शैक्षिक कार्यमा तामाङहरुले आफ्नो सहभागिता बढाउनुपर्ने बताउनुभयो । इतिहास लेखन कार्य एक महत्वपूर्ण काम हो बताउनुभयो । देश बिकास हुनु भनेको एक गरिब माथि आउनु हो भन्नुभयो । हाल बिवादित चिलिमे जलविद्युत आयोजनाबारे स्पष्ट पार्दै भन्नुभयो, राष्ट्रिय सहभागिताको कुरा गर्दै गर्दा तामाङहरुको वास्तविक सहभागिता कस्तो छ नेपालमा भन्नेबारे स्पष्ट पार्नुभयो । चिलिमे जलविद्युत आयोजना २०–२२ मेघावाटको निर्माण हुँदा रसुवाली जनताको आर्थिक स्थिति निकै माथि आएका छन् । र त्यहाँ १२००–१३०० मेघावाटको आयोजना निर्माण हुँदै छन् र यो कार्य सम्पन्न भएमा रसुवा जिल्ला नेपालकै सबैभन्दा धनी जिल्ला हुने जिकिर गर्नुभयो । कुनैपनि कार्य हुँदा स्थानियलाई प्राथमिकता दिईनुपर्छ भन्ने विश्वको मान्यता रहेकोमा आफूले पनि त्यही गर्दा त्यहाँ ९९ प्रतिशत तामाङले रोजगार पाएको बताउनुभयो । विपक्षी पक्ष, सभासद जस्तो ब्यक्तिले टेलिभिजन र सार्वजानिक रुपमा जातिय नारा लाउदै तामाङ भएकोले तामाङलाई मात्र रोजगारी दिईयो भन्ने आरोप लगाईयो तर वास्तविक रुपमा त्यहाँ तामाङ कै बाहुल्यता रहेकोले तामाङहरुले नै रोजगार पाउनु स्वभाविक भएको बताउनुभयो । राज्यले अझैपनि विभेदकारी नीति अपनाएको कुरा ब्यक्त गर्नुभयो । 

अमृत योञ्जन तामाङ, भाषाविद 
तामाङ प्राज्ञ सभाको गठन बन्दाको क्रममा, बौद्धिक समाजको बिकास पनि सँगसँगै गर्नुपर्छ भन्ने कुरालाई मनन गर्दै मास्टर्स डिग्री पढिरहेका तामाङको बारे अनुसन्धान गरी थेसिस लेख्नेहरुलाई आर्थिक सहयोग गर्न सके राहत मिल्ने कुरा उठेको र प्रारम्भ गरेको बताउनुभयो । त्यसैले घिसिङ समाजले पनि कम्तिमा घिसिङ समाजको बारेमा, घिसिङको कुल परम्पराको बारेमा, घिसिङ समाजको भौगोलिक बनौटको बारेमा थेसिस लेख्नेहरुलाई आर्थिक सहयोग गर्ने हो भने केही वर्षमा ५–१० ओटा थेसिस तयार भएपनि ज्ञानको श्रोत हुने सुझाव दिनुभयो । उहाँले इतिहासका ती सम्पूर्ण कुराहरु थाहा पाउन भाषा विशेष महत्वपुर्ण बताउनुभयो । विश्वका कुनैपनि कुनै भाषालाई कसैले जत्ति पुरानो भाषा भनेर घमन्ड गरेपनि हामीले बुझ्ने भाषा ३०० वर्ष यताको हो । वंशावली तयार गर्दा पद्धत्तिबद्ध र ब्यवस्थित बनाउने काम मानवशास्त्रीको हो, त्यसैले विज्ञ ब्यक्तिहरुलाई समेट्नुपर्ने बताउनुभयो । 

कुमार योञ्जन तामाङ, अध्यक्ष नेपाल तामाङ घेदुङ 
उहाँले भन्नुभयो रहरका लागि रहर संगठन बनाउन सकिन्छ र बनाएका पनि छन् । त्यसैले संगठन केवल संगठनको रुपमा रहनुहुन्न यसले जीवन पाउनुपर्छ भन्नुभयो । तामाङ समाजका हरेक थरहरुले आफ्नो बाबसा, फोला र नाम्सा कुन हो, त्यो जान्नुपर्छ । त्यसो भएमा आफ्नो पूर्खा कहाँको हो, के हो, संस्कार संस्किृति के हो सम्पुर्ण थाहा हुनेछ । उदाहरणको रुपमा रामेछाप जिल्लाको बेथान गाबिस डहू नाम्साका दोङ दाजुभाईहरुको कार्यलाई नमूना कार्य भएको जिकिर गर्नभयो । सो कार्यक्रममा दशैं तिहार तामाङको चाडपर्व होईन भन्ने थाहा भएपछि तिहारको भाईटिकाकै दिन भक्तपुरमा वार्षिक रुपमा छोरी ज्वाईलाई बोलाउदै तामाङ समाज भित्रका संस्कार, आफ्नो पूर्खाबारे ज्ञान दिने र युवाहरुलाई स्वाँगे भाई र कुटुम्ब यी हुन् भनेर भविष्यमा हुने सम्भावित दुर्घटनालाई टार्ने सुनौलो प्रयत्न भएको बताउनुभयो । २५ वर्षको दौरानमा बल्ल हाम्रो समाजको संस्कृति ल्होछार हो भनेर बुझेका छन् । तर कुनै ठाउँमा अझैपनि सबैभन्दा उत्ताउलिएर दशैं मानिरहेको तिक्तता पनि ब्यक्त गनुभयो । घिसिङ समाजले राम्रा कामहरुको थालनी गर्दै जाने क्रममा अरु थरहरुलाई हेप्ने घोच्ने गर्दै दम्भ सिर्जना हुने र तामाङ समाजलाई नै विभाजित हुने खालका कृयाकलापहरुबाट पर राख्नुपर्ने बताउनुभयो । किनभने प्रतेक घिसिङ हरेक न हरेक थरहरुसंग सम्बन्धमा रहेका हुन्छन् । 

फूर्बा याङ्जी घिसिङ, श्री बौद्धनाथ विकास क्षेत्र 
३३ प्रतिशत महिलाको सहभागिता घिसिङ समाजमा पनि ब्यबस्था गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेपाली समाजमा छोरी चेलीहरुलाई घरको चुलो चौघेरामा मात्र सीमित राखी सभा सम्मेलनमा ठूला भाषन दिने गरेको विगतमा भएको त्यो अभ्यासलाई तोड्नुपर्ने र विकासको मूख्य कार्यहरुमा सहभागिताको लागि प्रेरणा दिनुपर्ने बताउनुभयो । 

लामा कुसुम, प्रमुख अतिथि
यो ऐतिहासिक कामको थालनी भएकोमा घिसिङ समाजलाई बधाई दिनुभयो । आगामी दिनमा यस संस्थाले अझ प्रगतिको खुड्किलाहरु चढ्दै जाउन् भनी शुभकामना मन्तब्य छोटो रुपमा ब्यक्त गर्नुभयो । 

बाबु घिसिङ, अध्यक्ष–घिसिङ समाज नेपाल
उपस्थित दर्शक तथा अतिथिहरुको जिज्ञासा र सुझावहरुमाथि सम्बोधन गर्दै उहाँले यो एउटा ऐतिहासिक घिसिङहरुको भेला भएको बताउनुभयो । अझ यसलाई अन्तराष्ट्रिय भेला भएको पनि बताउनुभयो किनभने विभिन्न अन्तराष्ट्रिय संघ संस्थाका घिसिङ प्रतिनिधिहरुको उपस्थिती र विभिन्न राष्ट्रहरुबाट यो सम्मेलनको लागि सहयोग प्राप्त भएको बताउनुभयो । घिसिङ समाज नेपालमा “तामाङ” शब्द राख्नुपर्ने सुझावमा भन्नुभयो, जुन थरहरु तामाङ भित्रका एक हुन् भन्ने थाहा हुँदाहुदै तामाङ राखिराख्नुनपर्ने बताउनुभयो । तामाङ हुँ भनेर भनिएका थरहरु जसको पहिचान लोप हुन लागेका छन् तिनीहरुले थरको पछाडि तामाङ झुन्ड्याएर आफ्नो ईतिहास, फोला, नाम्सा लगायत खोजिनुपर्छ भन्नुभयो । विगतमा थुप्रै प्रयासहरु गरियतापनि यस संस्था आधिकारिक रुपमा २०७१ साल जेष्ठ ४ गते दर्ता भएको बताउनुभयो । घिसिङ समाजलाई तामाङ समाजभित्रको नमुना संस्थाको रुपमा बिकास गर्न घिसिङ समाजले उदाहरणीय कार्यहरुको थालनी गर्ने र यसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट घिसिङ र तामाङहरुलाई हातेमालो गर्न आव्हान गर्नुभयो । 

कार्यक्रममा थप सल्लाह सुझाव तथा मन्तब्य कर्णसिंह लामा(पूर्व कर्णेल), सुरेन्द्र कुमार घिसिङ, दिर्गलाल लामा, रामराजा घिसिङ, टलक घिसिङ, मानबहादुर घिसिङ, दोर्जे घिसिङ, हेम घिसिङले राख्नुभएको थियो । उहाँहरुले ईतिहासमा तामाङहरुको स्थिति जे जस्तो अवस्थामा रहेपनि आगामी दिनहरुमा तामाङ समाजको निर्माण द्रुत गतिमा हुनुपर्ने बताउनुभयो । नेपाल लगायत अन्य देशहरुको तामाङहरुलाई पनि समेटेर अन्तराष्ट्रिय भेलाको आयोजना गर्दै र संभव भए घिसिङका स्वाँगे भाईहरु लो र घलानलाई सहभागि गराई एक रुपमा अगाडि बढाउनुपर्ने विचार ब्यक्त गनुभयो ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।