नुवाकोट दशै अनुभव:

दशैँ कसरी मनाउने भन्दा नि दशैँ कसरी कटाउनेमा चिन्ता थियो । कसैले कतै घुम्न जाम् न भनिदेओस् लाग्दै थियो । त्यसैमा दिदिबाट "यसपाली हाम्रो उतातिरको घर जाने हो त?" मैले सहमती जनाउन कत्ती पनि बेर लगाइनँ । "आहा, भैहाल्छ नि ।" उत्साहित मनको जवाफ थियो ।

दशै-तिहार मेरो मेरो जन्मथलोमा भने मनाउन छाडेको निकै बर्ष बितिसकेको थियो । त्यसैले पनि नयाँ ठाउँ नयाँ तामाङहरुले कसरी मनाउदा रहेछ भन्ने जिज्ञासा मनभरी थियो । बिहान सात घडीले बजाउन नपाउदै हुइकियौं बालाजु बसपार्क तिर ।

भीडले खुल्ला त्यो ठुलो रोडमा पनि पाइला टेक्न खुल्ला प्रसश्त ठाउँ छोड्न मानिरहेको थिएन । नुवाकोट पुग्न टिकट त्रिशुलिसम्मको काट्नुपर्ने रे, तर त्यो पनि पाए त मार्नू । बसभरी धानिनसक्नु मान्छेको घुइचो देख्दा म अत्तालिएर उक्लिन मनलाई सम्झाउन सकिराखेको थिइनँ । भान्जा बाबु, सानो मान्छे उठ्न र ठुलोले जस्तो आफ्नो शरीरलाई सम्हाल्न सक्ने क्षमता थिएन । उभेर उसलाई बोक्ने झन सम्भव नै थिएन । धन्न एकजना आफन्त पर्ने दाइले टिकेट काटेर बस्नु भा'रहेछ, "ल बस्नू बुहारी" । हामी केटा मान्छे एक्लो ज्यान त झुन्डिएर गएपनि खासै ठुलो समस्या थिएन ।    

पाङग्राहरु सडकलाई ठेल्दै अघी बढ्दै थिए । तर ठाउँठाउँमा सडकले आफ्नो छाती गुमाउदा गाडीले सन्तुलन स्थिर राख्न नसकिरहेको अवस्था थियो । भ्याएसम्मको नजरलाई डाडापाखालाइ कैद गर्न लगाएँ । त्यसइ क्रममा ३५ किलो, पहिलोपटक सुनेर होला अनौठो नाम लाग्दै थियो । जिज्ञासा मनभरी उब्जेपनि अहँ कसैलाई सोधिनँ ।

खाजा भोजनमा १५ मिनेटको समय बिताएपछि भने फेरी ३५ किलोबाट २० मिनेटको बस यात्रा गर्न नपाउदै ओर्लिनुपर्यो । कारण त्यहाँबाट केही पर हिंडेपछी हाम्रो गन्तव्यस्थल पुगिन्थ्यौँ । भन्जाबाबुलाई कुर्कुरे अत्ती मन पर्ने । अनि आमा चाहिलाई नै छोडेर कुर्कुरेको प्याकेट लिदै हिंड्नुपर्ने उसलाई । अझ हिंड्नुपर्ने मात्र हो र दौडनै पर्ने हेहे । कलिलो माटो, बर्षायाममा पानी भार थेग्न नसकेर पहिरो रमाएको देखेँ । भिनाजु सुनाउदै हुनुहुन्थ्यो, "यसपाली चाँही अझै बन्या रहिन्छ सडक" । खासमा त्यो सडक गाउ र त्यहीको स्थानिय बासिन्दाहरु मिलेर केही रकम संकलन गरेर बनाउदा रहेछन् तर त्यसको लागि कसैबाट पहल नभएपछी उस्तै हालत ।

"त्यही तलको घर हो हाम्रो" दिदी सुनाउदै हुनुहुन्थ्यो । करिब ३५ मिनेटको ओरालो झरेपछी बल्ल आइपुगियो । दुई भयानक पहाडले निचोर्दै पानी निकाल्दै थियो, त्यसैले पानीको सुबिस्तै थियो ।

भिनाजुको घर एक्लो लगभग जंगलको बिचमा थियो । बाघले केही गरेर तानेर लगे त गुहार्दा गुहार्दै मान्छे नै सिध्याउन भ्याउने रहेछ हेहे । तल छेउबाट धुवा हावामा उडिरहदा हावामा एक खाले वेब(छाल) बहिरहेजस्तो देख्दथ्यो । आस्याङ-आङी त तीनपाने रक्सी पो बनाउदै हुनुहुदो रहेछ त । धेरै समय पछी भेट हुँदा सबैलाई ढोग्न शिर निहुराएँ, दिदिको पछीपछी लाएर । त्यहाँ मलाई नाताले मामा पर्ने भान्जा-भान्जिहरु पनि थिए, मलाई ढोग्दा आफ्नै भाषामा स्पस्ट नसुन्ने गरी आशिर्बाद पनि दिएँ । 

पहिलो दिन थकान सामान्य थियो । त्यसैले खाना खानेबितिक्कै यसो पल्टेको ओछ्यानमा झ्याप्पै निन्द्राले आँखा छोपेछ । ब्युझिदा त घडीले ४ नै पो हानेछ । उठेको भोक भोक पो लाग्यो । अरुको ठाउँ, भोक लागे नि भोक लाग्यो भन्न लाज । त्यसैले दिदिलाई नजर तन्काएर हेरेँ । त्यही नजिकै भान्जा बाबुसँग खेल्दै हुनुहुन्थ्यो । मैले भन्नु भन्दा पहिले नै, "भोक लाग्यो तिमीलाई ?" जवाफ स्वाभाबिक थियो, " अँ अलिअली" । चिउरा मासु पेटमा हुलाइदिदा पेट पनि आनन्दले शान्ता आराम गर्दै थियो ।

पहिलो दिन सामान्य मै बित्यो । ७ बजेपछी अध्याँरो, त्यसैले खाना खाएर सबै सुत्ने तरखरमा जुट्दै थिए । काठमाडौं हुँदा ११:३० बजेसम्म सधैं बस्ने मान्छे तर यसपाली पहिलोपट ३ घण्टा भन्दा अगाडि नै कहाँ सुत्न सकिन्थ्यो र! तर पनि आँखा चिम्म गरिरहेँ, बिहान उठेपछी पो चाडै निदाएको पत्तो पाएँ ।

अर्को दिन, नयाँ ठाउँ नयाँ गाउँ, कता जाऊ जाऊ लाग्दै थियो । "अँ, आज त भैंसी राँगा काट्छ पो" दिदिको जेठाजुको छोरो, साइनोले मेरो भान्जा, ले भन्दै थियो र त्यतातिर लगियो । त्यहाँ दशै कसरी मनाइन्थ्यो र अहिले कसरी मनाइन्छ,को फरक सुनाउदै थियो । भिनाजुको घर मदानपुर गाबिस, क्षेत्र नम्बर एकमा पर्ने रहेछ । केही पर माने गाङ भन्ने ठाउँ रहेछ, जहाँ पहिले ठुलो पोखरी थियो रे । त्यहाँ गाउभरिका भैंसी-राँगाहरुलाई राखेर दशैताका लस्करै काटिन्थ्यो रे । तर अहिले त्यो ठाउमा पोखरी छैन । केही बर्षअघी त्यस ठाउमा बिद्यालय बनाएको रहेछ र पहिले राँगा काट्ने ठाउमा अहिले शिक्षा पठनपाठन गर्दो रहेछ ।

पहिलेको जस्तो धेरै नकाटेपनि अहिले पनि दशैमा राँगा या भैंसी अझै काट्ने रहेछ । अस्टमिको दिन राँगा काट्नुपर्ने भनेर ५-७ घर मिलेर एउटा काट्ने रहेछ । फुलपाती भने खसी वा भाले काटेर भित्र्याउने रहेछ ।

दिनभरी काम केही थिएन । त्यही घर नजिकै सुन्तला लटरम्म फलेको थियो । पहेँला राताराता सुन्तला देख्दा सुन्तला मन पराउनेहरुको त मुखमा पानी रसाउदो हो । तर मैले सुन्तला नखाएको वा खान छोडेको भने १३ बर्ष लामो समय बितिसकेछ । त्यो सुन्तला प्रतिको लोभ थिएन ममा । भान्जा बाबु सुन्तलालाई बल बनाई खेलिरहदाँ, उसको हजुरबुवाले रशिलो शब्दमा गाली सुनाउदै पनि हुनुहुन्थ्यो । तर उसलाई त्यो गालीको पर्बाह थिएन । एउटा फुट्यो, टिप्न यो मामालाई अह्राउने हेहे ।

सानो मान्छे सबैको ध्यान केन्द्रित उसैमा । उसका अनेक हर्कतहरु रमाइलो लाग्थ्यो । कहिले कुखुराको माउसँग चल्ला अलग्याउन दौडिन्थे, कहिले "बाह"(बाख्रा भन्न नजानेर) शब्दलाई दोहोर्याइ दोहोर्याइ रटान हान्थे र पुछर समाउनुपर्ने, कहिले भैंसीलाई घाँस खुवाउनुपर्ने । एकचोटी त भैंसीले घाँससँगै हात चाटेछ, त्यसपछी घास दिन डर हेहे । उसले अरुले बोलेका कुराहरुलाई नक्कल त गर्न गोज्दै थिए, तर शब्दहरु अस्पस्ट । "कुखुरी काँ" लाई "हुतुट्टा", "गाडी" लाई "दाडी, दाडी" यस्तै यस्तै अन्य ।

दिन कटाउने सबैभन्दा राम्रो माध्यम भनेको रेडियो सुन्ने रहेछ । "रेडियो जल्पा" भन्ने बाहेक मैले अर्को स्टेसनको नाम नै भेट्टाइनँ । नेट चल्दैन थियो, त्यसैले अली शहरिया बानी परेकोलाई केही अप्ठ्यारो भने हुन्थ्यो नै ।

दशमीको दिन टिका लाउने अझै त्यहाँ छलन रहेछ । बिशेष गरी तामाङहरुले जुनसुकै कार्यमा सेतो टिका लाउने चलन रहेको हुँदा त्यहाँ पनि त्यस्तै पाइन्थ्यो । आस्याङ सुनाउदै हुनुहुन्थ्यो, "के गर्नु बाबु, अरु ठाउको तामाङहरुले दशै हाम्रो होइन भनेर छाडिसके । तर हामीले भने छोड्न सकेका छैनौ । पहिले त अझ लामा बोन्बो सहित दशैलाई भित्र्याउथ्थ्यौ तर यो क्रम अहिले हटेको छ । प्रतेक घरबाट एक एक माना चामल जम्मा गर्थे, अनि त्यसैबाट खै के के बनाएर प्रतेक घरमा पठाउथ्यो । पहिलेभन्दा चाँही मनाउन कम नै गरेको हो" । टिका लाउन म पनि निधार सिंगै थाप्दै थिएँ । सेतो टिका र सयपत्री फूल कानमा लाइदिनु भो । मैले शिर निहुराई ढोग्दा आशिर्बाद पनि असली पाएँ । दशमीको दिनको भोलिपल्टदेखी बसमा चाप हुन्छ भनेर टिका लाएर यता आइहाल्यौ । यस्तै यस्तै नौलो र नयाँ स्वाद चाखेर आएँ ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।