बाहुनबाद पदावली आजको सन्दर्भमा ः

प्रस्तुती :मणिकलाल घिसिङ तामाङ
बाहुनबाद पदावली आजको सन्दर्भमा ः
“बाहुनबाद” शब्दको बढी प्रयोग दलित मुक्ति आन्दोलन, जातिय मुक्ति आन्दोलन र कतिपय अवस्थामा कम्यूनिष्टहरुले समाजवादी आन्दोलनमा प्रयोग गरिएको पाइन्छ । के उसो भए बाहुनहरुको हाबी हुनु नै बाहुनवाद हो त ? साराशंमा बाहुनवाद भनेको बाहुन जातिकै विरोध हो भन्ने भ्रम कतिपयलाई परिरहेको छ, यसलाई गलत ढङ्गले बुझ्दा सबैभन्दा बढी बाहुन नै आत्तिएका र डराएका छन् । कतिपय अवस्थामा यसको अर्थै नबुझी गलत प्रयोग गरेको पनि पाइन्छ । यसलाई संकिर्न रुपले बुझ्नु र प्रयोग गर्नु निकै घातक समेत सावित हुने स्पष्ट देखिन्छ । पढेलेखेका तपाई हामीजस्ता केही सचेत ब्यक्तिहरुलाई बुझ्न सजिलो होला तर सामान्य जनताले बाहुनवाद भन्दा बाहुनलाई ठोक्ने र सिध्याउने भनेर बुझ्दछन् । त्यसैले यस शब्दको स्पस्ट ब्याख्या हुनु जरुरी छ ।

बाहुन जाति वास्तवमा ः
बाहुन मागीखाने र ठगीखाने जात हो भन्दा सिधैं प्रहार भएको झैं लाग्न सक्छ तर इतिहास हेर्ने हो भने बाहुनले आफैं काम गरिखान थालेको ५-७ दशकभन्दा बढी भएको छैन । कृषिप्रधान देशमा बाहुनले हलो समाउनै नहुने भनेपछि कल्पना गर्नोस्, बाहुनले के गरेर पेट पाल्थ्यो होला ? श्रम नगरेपछि बाहुनको बाँच्ने आधार भनेकै अर्काको श्रम शोषन थियो ।

बाहुनवाद पुस्तक अध्ययन गर्दै पन्डित दीनबन्धु पोखरेल !
बाहुन जाति भित्रका सकरात्मक पक्षबारे चर्चा गर्दा जीवनशैलीमा सादापन, खर्चमा मितब्ययी, दुःखसित जुध्ने क्षमता, चोखोनितोमा ध्यान, दर्शनमा विशेष चासो, शिक्षामा विशेष जोड दिने बानी, सम्झौता गर्नसक्ने क्षमता आदि पर्दछन् । बाहुन खर्चमा अन्य जातिभन्दा मितब्ययी भन्ने कुरालाई पनि उसको सकरात्मक विशेषताअन्तर्गत लिने गरिन्छ । उति नै अनाज अन्न उत्पादन गर्ने बाहुन र जनजातिमध्ये बाहुनले वर्षभरि खान पुर्याउछ भने जनजातिलाई ६–८ महिनाअघि नै अनिकाल लाग्छ । बाहुनहरु साच्चै सिपालु हुन्छन्, सुठुनी र पिँडालु खाएर भए पनि उनीहरु बचत गर्छन् । बाहुनको अर्को विशेषता साहित्य र दर्शनप्रतिको रुचि हो । बाहुनहरु एक आपसमा संसार र जीवनका बारेमा खुबै बहस गर्छन् । घरमा खान दाना नभएपनि दर्शन छाँट्नमा बाहुनलाई आनन्द लाग्छ ।

हिन्दुवाद र बाहुनवाद ः
बाहुनवाद शब्दले हिन्दुवादको पनि प्रतिनिधित्व गरेझैं लाग्छ । तर हिन्दुवाद शब्दले बाहुनवादीको असली प्रतिनिधित्व गर्दैन । यसका लागि बाहुनवाद शब्द नै उपयुक्त हुन्छ । हुन त नेपालका बाहुनवादी आफुलाई हिन्दु भन्नमा खुबै गर्व गर्छन् । तर भारतीय लेखक रजनीकान्त शास्त्रीले आफ्नो पुस्तकमा हिन्दु शब्दको परिभाषा दिदै भनेका छन् ःहिन्दु हुनका लागि दुईवटा सर्त पुरा हुनुपर्छ, पहिलो–भारतवर्षलाई आफ्नो पुर्वजको मातृभूमि मान्नु र दोश्रो–कुनै पनि भारतीय धर्मको अनुयायी हुनु ।

यसैबाट प्रष्ट हुन्छ कि हिन्दु धर्म नेपाल र नेपालीको राष्ट्रिय धर्म होइन, वनारसी धर्म हो । बाहुनवाद भनेको भारतीय हिन्दुवादको नेपाली संस्करण हो ।

बाहुनजात र बाहुनवाद ः
बाहुन बहुआयामिक जात हो । विभिन्न खाले बाहुनहरुलाई देख्न सक्छौं । कोही धोति लाएर आध्यात्मावाद र रुढीवादीको प्रचारप्रसारमा लागेको बाहुन छन्, कोही दलितलाई अन्याय गर्ने बाहुन त कोही दलित आन्दोलनलाई उठाउने बाहुन पनि छन् । बाहुन भनेको आर्य जातिमा जन्म लिएको, पातलो जिउ, अग्लो नाक, गाडिएका आँखा भएको एउटा निश्चित मानविय वंशको प्रजाति हो । बाहुनको शारिरिक बनावट त्यस्तो हुनु वा बाहुनको कुलमा जन्म लिनु केही दोष छैन । बाहुन भनेको एक किसिमको वर्ण मात्रै हो । यसर्थ बाहुनलाई देख्नसाथ उसलाई बाहुनवादी वा शोषक जाति भन्ठान्नुहुन्न । बाहुन हुनु उसको रहर होइन न त उसले रहर गरेर निवेदन हालेर बाहुनको कोखबाट जन्म लिएको नै हो ।

यतिबेला हामीकहाँ बाहुनवादको विरोध गर्ने नाममा बाहुन जातिकै विरोध गर्ने र उनीहरुलाई हेप्ने जुन साम्प्रदायिक प्रचलन विकास भएको छ, त्यो भने गलत छ । हामीले के बुझ्नुपर्दछ भने सबै बाहुनवादी बाहुन मात्र होइनन् र सबै बाहुन बाहुनवादी होइनन् । बाहुन र बाहुनवादमा फरक छुट्याउनुपर्छ

उसो भए कसरी बुझ्ने त बाहुनवाद पदावलीलाई ?
“बाहुनवाद” के हो त भन्ने सन्दर्भमा यसको परिभाषाहरु फरकफरक पाईन्छ । बाहुनवाद सामन्तवादी विचारधाराको एक रुप हो । हो हामीले सामन्तवादको अन्त्य गनुपर्छ तर सामन्तवादको अन्त्य हुदाँ सामन्तहरु बँच्न सक्छन्, त्यसैले फेरि पनि सामन्तीहरुको अन्त्य गर्नुपर्छ । बाहुनवादी भन्नाले हामी हिन्दु धर्ममा आस्था राख्ने, जातिय भेदभावमा विश्वास राख्ने, रुढीवादी एवं कर्मकाण्डको वकालत गर्ने, नारी–पुरुषबीच भेदभाव गर्ने, राजालाई विश्वास गर्ने, स्वयंपाकेवाद एवं परिवार भित्रै छुवाछुत गर्ने, विज्ञानलाई विरोध गरिहिड्ने, अग्रगमणलाई विरोध गर्ने, जातिय स्वायत्तताको विरोध गर्ने, आदि गलत विशेषता बोकेका मानिसलाई सम्झिनुपर्दछ । बाहुनवाद वेद, गीता, रामायन, महाभारत, आदि ग्रन्थको र कुनै बाहुनको विरोध होइन । बाहुनवादको विरोध भनेको रुढीवाद, अवैज्ञानिक–अभौतिक कर्मकान्ड, अन्धविश्वासको विरोध हो ।

दलित दलित बीचमै जातिय भेदभाव छ, दलित पनि बाहुनको नक्कल गर्छन् भने त्यो पनि बाहुनवाद हो । दलित पनि बाहुनवाद हुन्छन् । त्यसैगरि, जनजातिमा पनि बाहुन बोलाएर पुजापाठ गराउने, ज्योतिष हेराउने, चिना बनाउने, दलितले छोएको नखाने, राजतन्त्रको वकालत गर्ने, संघीय शासनको विरोध गर्ने लक्षन छन् भने ती जनजाती बाहुनवादी नै हुन् । बाहुनवादी हुनका लागि नाक चुच्चो हुनुपर्छ भन्ने केही छैन । बाहुनवादी त नाकले होइन, विचार र ब्यबाहारले हुने कुरा हो ।

अन्तमा ः
हामीले बाहुन जातको होइन बाहुनवादको विरोध गर्नुपर्छ, बाहुनवादीहरुको अन्त्य नै स्वच्छ समाज निर्माणको लागि मार्गनिर्देश बन्न सक्छ ।

सन्दर्भ सामग्रीहरु ः
अरुण बराल, बाहुनवाद ।
याखाराई, दूर्गाहाङ्ग, ब्राम्हनवादविरुद्ध जनजाति–उत्पिडन वर्ग ।
प्रश्रित मोदनाथ, आस्था प्रथा एक विवेचन, त्रियुगा छापाखाना ।

0 comments

हामि सल्लाह, सुझावको आशा राख्दछु !

धन्यवाद यहाँलाई मेरो संसारभित्र एकै छिन् मनलाई भुलाउनुभएकोमा । प्रतिकृयासहित सल्लाहसुझाबको लागि समेत हार्दिक अपेक्षा । शुभ रहोस् यहाँको सम्पूर्ण पलहरु ! लासो थुजेछे ।